काठमाडौं,३२ जेठ । नेकपा एमालेले सञ्चालन गरेको मिशन ग्रासरुट अभियानको क्रममा १ लाख १९ हजार ९६ जनाले पार्टी सदस्यताका लागि आवेदन दिएका छन । गत माघ २५ गते बसेको एमाले सचिवालय बैठकले सात वटा उदेश्यसहित दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गर्नेनिर्णय गरेको थियो ।
‘मिसनको महत्वपूर्ण उद्देश्यका रुपमा रहेको पार्टी सदस्यता नवीकरण, मृत्यु भएका, दोहोरिएका, निष्क्रिय अवस्थामा रहेका या पार्टी परित्याग गरेका व्यक्तिहरुको नाम विवरणबाट हटाएर अभिलेख सच्याउने तथा नयाँ सदस्यता आवेदन लिनेक्रम अभियानकै रुपमा अगाडि बढेको छ । यसक्रममा ४० प्रतिशत हाराहारीमा सदस्यता नवीकरण भइसकेको र आगामी असारसम्म अन्तिम विवरण तयार हुँदा यो संख्या थप बृद्धि हुने अपेक्षा गरिएको छ । अभियानका क्रममा १,१९,०९६ जनाको पार्टी सदस्यताका लागि आवेदन प्राप्त भएको छ,’ एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्खरै जारी गर्नुभएको अन्तर पार्टी निर्देशनमा भनिएको छ ।
अभियानका क्रममा पार्टीका सबै प्रदेश, जिल्ला, पालिकामा बैठक भएको तथा वडा र टोलका बैठकहरु पनि आमरुपमा सम्पन्न भएका एमालेले जनाएको छ ।बैठकबाट अभियानलाई अगाडि बढाउन सहयोग पुग्नुका साथै कमिटीहरुको समग्र अवस्था र सदस्यहरुको भूमिकाको मूल्यांकन गर्न सहज भएको निश्कर्ष पनि अपानिमा उल्लेख छ ।
एमालेले परिवर्तित परिस्थिति र नयाँ चुनौतीको सामना गर्न पार्टी संगठनलाई स्पष्ट, सुदृढ, चुस्त र जनआधारित बनाउन, पार्टी ‘बचाउने’ उद्देश्यले बनाइएका संगठनहरुलाई पार्टी ‘बनाउने’ उद्देश्यमा पुनर्संरचना गर्न र पार्टीभित्रको संगठनात्मक अराजकतालाई निर्मूल गर्न अनिवार्य भइसकेको अनुभूतिसहित २०७९ माघ २५ गते सम्पन्न केन्द्रीय सचिवालय बैठकबाट दुई महिने ‘मिसन ग्रासरुट’ सञ्चालन गर्ने निर्णय गरेको हो ।
अभियानका लागि ७ वटा उद्देश्य तय गरिएका थिए र सबै पालिकाहरुका लागि केन्द्रीय प्रतिनिधि खटाइएको थियो । प्रतिनिधिहरुका लागि १२ वटा कार्यादेश तय गरिएका थिए । ६ वटा कार्यादेशसहित केन्द्रीय सचिवको नेतृत्वमा प्रत्येक प्रदेशमा स्थायी कमिटीका सदस्यहरुलाई अनुगमनमा खटाइएको थियो भने केन्द्रीय उपाध्यक्षहरुले एक–एक वटा प्रदेशमा अभिमुखीकरणको समन्वय, अभियानको नेतृत्व र समीक्षाको अगुवाई गर्नुभएको थियो । महासचिव र उपमहासचिवहरुका तर्फबाट केन्द्रीय कार्यालयबाट समग्र अभियानको समन्वय र व्यवस्थापन गरिएको थियो ।
अभियानपश्चात प्रत्येक पालिका, जिल्ला र प्रदेश हुँदै अभियानको समीक्षा गरिएको थियो । प्रतिवेदनलाई एकरुपता दिन र त्यसलाई मापनयोग्य एवं वस्तुनिष्ठ बनाउन विज्ञहरुको सहयोग समेत लिइएको एमालेले जनाएको छ । केन्द्रीय कमिटीको बैठकमा सचिवहरुले प्रत्येक प्रदेशका तर्फबाट समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।




















