काठमाडौं, १ असार । नेकपा एमालेले सञ्चालन गरेको दुई महिने मिशन ग्रासरुट अभियानले चार उपलब्धी हासिल भएको छ । केन्द्रीय सचिवालय बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन (अपानि) अनुसार अभियानको क्रममा एमालेले जनतासँगको सम्बन्धलाई मजवुत पार्नेलगायतका कार उपलब्धी हासिल भएको छ । यी उपलब्धीले एमालेलाई बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने आधार खडा भएको छ ।

‘समग्रमा, मिसन ग्रासरुट पार्टीपङ्तिलाई चलायमान पार्न, कमिटीहरुलाई सक्रिय र गतिशील बनाउन, पार्टी र जनताबीचको सम्बन्धलाई सुदृढ गर्न तथा पार्टीमा विद्यमान समस्याहरु पहिचान गर्न निकै प्रभावकारी बनेको छ । पहिचान भएका समस्याहरु माथि आधारित रहेर नै हामीले वार्षिक कार्ययोजना निर्माण गरेका छौं । अभियानका क्रममा जनतासँग प्रत्यक्ष सरोकार राख्ने अनेकौं मुद्दाहरुको पहिचान भएको छ, जसका आधारमा हामीले आगामी दिनमा सदन र सडकबाट सशक्त जनदबाब सिर्जना गर्नेछौं,’ अध्यक्ष ओलीले भर्खरै जारी गर्नुभएको अपानिमा भनिएको छ ।

एमालेले मिसन ग्रासरुट अभियानमा रचनात्मक कामहरू भएको समेत बताएको छ । अपानिमा उल्लेख भएअनुसार अभियानको क्रममा जनतालाई सेवा गर्ने हेतुले विभिन्न ठाउँहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको, स्वास्थ्य चौकी, शौचालय, कृषि सडक निर्माण गर्न श्रम शिविर सञ्चालन गरिएको । मन्दिर, सार्वजनिक भवन तथा बाटोहरुको सरसफाइ गरिएको छ । यस्तै पुस्तकालय स्थापनाजस्ता अनेकौं रचनात्मक तथा जनताको प्रत्यक्ष जीवनलाई सहयोग पुग्ने क्रियाकलापहरु गरिएका छन । यसैगरी अभियानका क्रममा सेल्टरदाता, ज्येष्ठ कम्युनिष्टहरु र समाजमा योगदान पुर्याएका सामाजिक व्यक्तिहरुलाई समम्मान गरिएको, ओखलढुंगामा पार्टीका पुराना योद्धाहरुको नाममा प्रतिष्ठान स्थापना गरिएको छ ।

यसैगरी पार्टी सदस्यता नवीकरण गर्न श्रमजीवी वर्गले ऋण सापटी गरेको र पछि ज्यालादारी श्रम गरेर त्यो चुक्ता गरेको जस्ता अनुकरणीय दृष्टान्त पनि देखापरेको अपानिमा उल्लेख छ । अपानिअनुसार अभियानको क्रममा जनसमुदायको सुविधालाई ध्यानमा राखेर विभिन्न ठाउँमा रातीमा समेत कार्यक्रम सम्पन्न गरिएका छन ।

‘कतिपय समस्याका बाबजुद आमजनतामा नेकपा एमालेप्रतिको भरोसा र समर्थन कायमै छ । गुनासा छन तर विश्वास बलियो छ । सीमित वैचारिक, शैलीगत र आचरणमा समस्या देखिए पनि एमालेको पार्टी पङ्ति निष्ठावान, अविचलित र सक्रिय छ । ग्रामीण क्षेत्र, श्रमजीवी वर्ग र महिलाहरुमा पार्टीप्रतिको भरोसा तुलनात्मक रुपमा अझ बढी देखिन्छ,’ अपानिमा भनिएको छ, ‘पहिचान गरिएका माथि उल्लेखित समस्याहरुलाई समाधान गर्दै अगाडी बढेमा नेकपा एमालेलाई बलियो र बहुमत प्राप्त पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्य हासिल गर्न असहज छैन ।’

एमालेप्रतिको आकर्षण यथावत : दुई महिनामा १ लाख २० हजार नयाँ सदस्यको आवेदन नेकपा एमालेले सञ्चालन गरेको मिशन ग्रासरुट अभियानको क्रममा १ लाख १९ हजार ९६ जनाले पार्टी सदस्यताका लागि आवेदन दिएका छन । गत माघ २५ गते बसेको एमाले सचिवालय बैठकले सात वटा उदेश्यसहित दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गर्नेनिर्णय गरेको थियो ।

मिसनको महत्वपूर्ण उद्देश्यका रुपमा रहेको पार्टी सदस्यता नवीकरण, मृत्यु भएका, दोहोरिएका, निष्क्रिय अवस्थामा रहेका या पार्टी परित्याग गरेका व्यक्तिहरुको नाम विवरणबाट हटाएर अभिलेख सच्याउने तथा नयाँ सदस्यता आवेदन लिनेक्रम अभियानकै रुपमा अगाडि बढेको छ । यसक्रममा ४० प्रतिशत हाराहारीमा सदस्यता नवीकरण भइसकेको र आगामी असारसम्म अन्तिम विवरण तयार हुँदा यो सब्ख्या थप बृद्धि हुने अपेक्षा गरिएको छ । अभियानका क्रममा १,१९,०९६ जनाको पार्टी सदस्यताका लागि आवेदन प्राप्त भएको छ,’ अपानिमा भनिएको छ ।

अभियानका क्रममा पार्टीका सबै प्रदेश, जिल्ला, पालिकामा बैठक भएको तथा वडा र टोलका बैठकहरु पनि आमरुपमा सम्पन्न भएका एमालेले जनाएको छ । बैठकबाट अभियानलाई अगाडि बढाउन सहयोग पुग्नुका साथै कमिटीहरुको समग्र अवस्था र सदस्यहरुको भूमिकाको मूल्यांकन गर्न सहज भएको निश्कर्ष पनि अपानिमा उल्लेख छ ।

एमालेले परिवर्तित परिस्थिति र नयाँ चुनौतीको सामना गर्न पार्टी संगठनलाई स्पष्ट, सुदृढ, चुस्त र जनआधारित बनाउन, पार्टी ‘बचाउने’ उद्देश्यले बनाइएका संगठनहरुलाई पार्टी ‘बनाउने’ उद्देश्यमा पुनर्संरचना गर्न र पार्टीभित्रको संगठनात्मक अराजकतालाई निर्मूल गर्न अनिवार्य भइसकेको अनुभूतिसहित २०७९ माघ २५ गते सम्पन्न केन्द्रीय सचिवालय बैठकबाट दुई महिने ‘मिसन ग्रासरुट’ सञ्चालन गर्ने निर्णय गरेको हो ।

अभियानका लागि ७ वटा उद्देश्य तय गरिएका थिए र सबै पालिकाहरुका लागि केन्द्रीय प्रतिनिधि खटाइएको थियो । प्रतिनिधिहरुका लागि १२ वटा कार्यादेश तय गरिएका थिए । ६ वटा कार्यादेशसहित केन्द्रीय सचिवको नेतृत्वमा प्रत्येक प्रदेशमा स्थायी कमिटीका सदस्यहरुलाई अनुगमनमा खटाइएको थियो भने केन्द्रीय उपाध्यक्षहरुले एक–एक वटा प्रदेशमा अभिमुखीकरणको समन्वय, अभियानको नेतृत्व र समीक्षाको अगुवाई गर्नुभएको थियो । महासचिव र उपमहासचिवहरुका तर्फबाट केन्द्रीय कार्यालयबाट समग्र अभियानको समन्वय र व्यवस्थापन गरिएको थियो ।

अभियानपश्चात प्रत्येक पालिका, जिल्ला र प्रदेश हुँदै अभियानको समीक्षा गरिएको थियो । प्रतिवेदनलाई एकरुपता दिन र त्यसलाई मापनयोग्य एवं वस्तुनिष्ठ बनाउन विज्ञहरुको सहयोग समेत लिइएको एमालेले जनाएको छ । केन्द्रीय कमिटीको बैठकमा सचिवहरुले प्रत्येक प्रदेशका तर्फबाट समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।