काठमाडौं, २ असार । नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता बिद्येयक मुलुकको हितमा नभएकै कारण आफूले रोकेको प्रष्ट पार्नुभएको छ । राष्ट्रपतिका रुपमा आफूले नागरिकता बिद्येयक रोकेको बिषयमा अनेक आरोप मात्र नभई लाञ्छना लगाउने काम भए पनि देशको हितमा नभएको कारण रोक्नु परेको भण्डारीले बताउनु भयो ।
‘आफ्नो देश कमजोर होस, केही मतलव छैन, अर्काको प्रसंसा गरिरहनु पर्ने कस्तो शैली हो ? किन त्यस्तो गर्नुपर्यो ?’ आफ्नो नीजि निवास भंगालमा शुक्रवार साँझ प्रेस चौतारी नेपालका केही पदाधिकारीसहितका सिमित पत्रकारसँगको कुराकानीमा भण्डारीले भन्नुभयो, ‘ बरु मरिन्छ, देशमाथि गद्धारी गरिन्न । मेरो यही बटमलाइनले त्यस्तो काम गर्न दिएन ।’
तात्कालिन राष्ट्रपति भण्डारीले नागरिकता बिद्येयकलाई प्रमाणिकरण नगरी निस्कृय तुल्याउनु भएको थियो । सो बिद्येयकलाई बर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले संबिधानभन्दा बाहिर गएर तात्कालिन राष्ट्रपति भण्डारीकै नाम रहे पनि तल आफ्नो नाम हातले लेखेर प्रमाणिकरण गर्नुभएको छ ।
सर्वाेच्च अदालतले राष्ट्रपतिको सो कदमलाई रोक्दै कार्यान्वयन नगर्न आदेश दिइसकेको छ । तात्कालिन राष्ट्रपति भण्डारीले नागरिकता बिद्येयक रोक्नुमा नेपालको संबिधान २०७२ भन्दा बाहिर गएर पुरानो संबिधानको ब्यवस्थाअनुसार बिद्येयक ल्याउनु पनि कारण रहेको छ । देशको नागरिकता कानून पटक पटक बिवादमा पार्न नहुने भए पनि पटक पटक बिवादमा पार्ने काम भइरहेकोमा भण्डारीले असन्तुष्टि जनाउनु भयो ।
आफ्नो देश कमजोर होस, केही मतलव छैन, अर्काको प्रसंसा गरिरहनु पर्ने कस्तो शैली हो ? किन त्यस्तो गर्नुपर्यो ?, बरु मरिन्छ, देशमाथि गद्धारी गरिन्न । मेरो यही बटमलाइनले त्यस्तो काम गर्न दिएन
‘नयाँ संबिधानअनुसारको ल्याउनु पर्यो नि त, पुरानो संबिधानको नागरिकता ऐनलाई संशोधन गरेर ल्याएको हो, नयाँ संबिधान २०७२ मा जारी भयो, तर त्याृ भन्दा पहिलाको संबिधानको नागरिकता ऐन संशोधन गरेर ल्याएको कुरा कसरी स्वीकार्नु हुन्छ ?’ भण्डारीले भन्नुभयो । उहाँले नागरिकताको सवालमा गर्न नहुने काम भएको पनि बताउनु भयो । ‘नागरिकता बिद्येयक त प्रमाणिकरण भयो त अहिले ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘गर्न नहुने काम भको छ ।’ यसो भनिरहँदा उहाँको अनुहारमा एकाएक आक्रोश देखिएको थियो । झण्डै तीन घण्टा लामो छलफलका क्रममा उहाँले आफू पदमा रहँदा वा नरहँदा देशको अहित हुन्छ भन्ने लागेका कसैको कुरा नसुन्न, केवल देशको हित मात्र हेर्ने गरेको दृष्टान्त राख्नुभयो ।
राष्ट्रियता कमजोर भएकोमा चिन्ता व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले थप्नुभयो, ‘यो देशमा धेरै षडयन्त्रहरु भइरहन्छन । चन्द्र सूर्य रहेसम्म नेपालको मौलिक पहिचान जोगाउनुपर्छ । हामी सबै मिलेर हाम्रो राष्ट्रियता जोगाउनुपर्छ, देशको सवालमा कसैसँग कुनै पनि संझौता गर्न हुँदैन ।’ उहाँले आफ्नो देशको पक्षमा बोल्न सकैको अनुमति लिन जरुरी नभएको भन्दै पदमा बस्नेहरुले यो कुरा हेक्का राख्नुपर्ने सुझाव दिनुभयो ।
भण्डारीले अब आफू एमालेको राजनीतिमा नफर्कने संकेत पनि गर्नुभयो । एमालेले ७० बर्षे उमेर हद हटाएको र भण्डारी फेरि एमालेको राजनीतिमा फर्किने चर्चा कार्यकर्ता पंक्तिमा चलिरहेको बेला उहाँको यो धारणा आएको हो । राष्ट्रपतिबाट बिदाई हुने क्रममा सरकारी आवास लगायतका सुविधा नलिएका कारण उहाँ भविष्यमा एमालेको अध्यक्ष बन्ने गरी पार्टी काममा फर्कने अड्कलबाजीहरु बजारमा भइरहेको छ । तर भण्डारीले एमाले राम्रो होस भन्ने लाग्नु स्वभाविकैै भए पनि सक्रिय राजनीतिमा फर्कनेबारे केही नसोचेको तर हेरिरहेको बताउनु भयो ।
म एमालेको अध्यक्ष हुँदा कम्युनिष्ट पार्टीको प्रथम महिला अध्यक्ष भन्ने पनि हुन्छ । लिगेसी पनि छ । तर, म राष्ट्रपतिको जिम्मेवारीमा जानुपर्यो । अब फेरि एमालेमा प्रतिस्पर्धी भएर बस्न मन छैन ।
‘मलाई अरुले भन्दा राम्रोसँग मैले नै चिनेको छु, मलाई नजिकबाट चिन्नेले चिनेका छन, म नेतृत्वमा बस्न अलिक डराउने मान्छे हो, तर कतिपय अवस्थमा नचाहेर पनि कतिपय जिम्मेवारी पूरा गर्नुपर्छ । नवौं महाधिवेशन सकाएर घरभित्र पस्न नपाउँदै एकजना भाईले दशौं महाधिवेशनमा को बन्छ अध्यक्ष ? उतातिर त कुरा चलिसकेछ भन्नुभयो, मैले त्यतातिर नजाऔं भन्दा पनि फेरि साधेपछि भनेको थिए–म एमालेको अध्यक्ष हुँदा कम्युनिष्ट पार्टीको प्रथम महिला अध्यक्ष भन्ने पनि हुन्छ । लिगेसी पनि छ । तर, म राष्ट्रपतिको जिम्मेवारीमा जानुपर्यो । अब फेरि एमालेमा प्रतिस्पर्धी भएर बस्न मन छैन,’ एमालेका पूर्वउपाध्यक्षसमेत रहनुभएकी भण्डारीले भन्नुभयो ।
उहाँले आफूमा एमालेको नेतृत्व गर्ने महत्वाकांक्षा नरहेको सुनाउनु भयो । ‘मलाई अध्यक्ष बन्ने महत्वाकांक्षा छैन । लालायित पनि छैन । तर, टुलुटुलु हेरेर बस्ने कि नबस्ने भन्ने चाँहि छ । यत्ति हो, क्लोज्ली वाच गरिरहेको छु,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो । कुराकानीको क्रममा उहाँले राष्ट्रपतिका रुपमा काम गर्दा आफूले प्रधानमन्त्री र मन्त्रीहरुलाई दिएको सुझाव, कार्यान्वयन नभएका बिषयदेखि नेपालको शक्षा प्रणाली, कृषिको आधुनिकिरणकरणदेखि जलबायु परिवर्तनको बिषयमासमेत सबिस्तार चर्चा गर्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले उहाँले देशको वर्तमान अबस्थाप्रति निकै चिन्तित देखिनुभएकी रपूर्वराष्ट्रपति भण्डारी युवा पलायन, बेरोजगारी समस्या, आर्थिक संकट, कृषि क्षेत्रको विकास नहुँदा बढिरहेको आयात र बजेट घाटाले थप चिन्ता पारेको बताउनु भयो ।
सक्रिय राजनीतिमा फर्कनेबारे केही नसोचेको बताउनु भएकी भण्डारीले निस्कृय भने नबस्ने योजना सुनाउनु भयो । मुलुकको शिक्षा प्रणालीमा सुधार, जलबायु अनुकुलनका लागि हरियाली पबर्धन, कृषि उत्पादन बृद्धि गरी आयात रोक्ने अभियान, जनस्वास्थ्य जस्ता क्षेत्रमा आफूले सक्दो काम गर्ने योजना उहाँको छ ।




















