काठमाडौं, ४ असार । नेकपा एमाले प्रवेशको तयारीमा रहेका राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले अध्यक्ष केपी ओलीपछिको दोस्रो वरीयताको जिम्मेवारीमा दाबी गरेका छन् । एमाले प्रवेशको तयारीमा रहेका गौतमले आइतबार ओलीलाई भेटेर पार्टीमा दोस्रो वरीयतामा रहने गरी जिम्मेवारी मागेका हुन् । हाल एमालेमा ओलीपछिको वरीयतामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् ।
एमालेले पार्टीको कार्यकारी पदमा ७० वर्षे उमेरहद हटाएर आफूलाई प्रवेशका लागि सहज बनाएकोमा धन्यवाद दिँदै गौतमले अर्को निर्वाचनमा ६० लाख मत ल्याउने गरी पार्टीमा क्रियाशील हुने महत्वाकांक्षी प्रस्तावसमेत ओलीसँग राखेका छन् । ओली–गौतमबीच एमाले केन्द्रीय कार्यालय च्यासलमा करिब दुई घन्टा लामो छलफल भएको थियो । छलफलमा उपाध्यक्ष विष्णु पौडेल, कार्यवाहक महासचिव प्रदीप ज्ञवाली र उपमहासचिव विष्णु रिमाल पनि सहभागी थिए ।
‘पार्टीमा सबभन्दा ठूलो जिम्मेवारी कसको छ, त्यसभन्दा कम जिम्मेवारी पाउने गरी मलाई जिम्मेवारी नदिनुहोला । बिहान उठेदेखि बेलुका सुत्दासम्मको अवधिमा मैले काम गर्न पाउनुपर्छ, त्यस्तो जिम्मेवारी दिनुस् भनेको छु,’ एमाले कार्यालयबाट बाहिरिने क्रममा गौतमले सञ्चारकर्मीहरूसँग भने, ‘केही विचार छन्, लेखेर दिएको छु । म आइसकेपछि आगामी निर्वाचनमा ६० लाख मत ल्याउने गरी अगाडि बढ्नुपर्छ भन्ने प्रस्ताव राखेको छु ।’




















