चितवन,१५  असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग सेटिङ गरेका बाहेक अन्य व्यवसायीहरु संकटमा परेको ठोकुवा गर्नुभएको छ । असार १५ को राष्ट्रिय धान दिवस मनाउन बिहीवार चितवन आइपुग्नु भएका पूर्वप्रधानमन्त्री ओलीले जिल्लाको युवा उद्यमी मञ्चले आयोजना गरेको अन्तरक्रियामा यस्तो तथ्य राख्नुभएको हो ।

उहाँले करका दरहरु हेरफेर गराउन सफल व्यवसायीहरु बाहेक अरु आर्थिक मन्दीको चपेटामा पर्न थालेको बताउनु भयो । अहिलेको आर्थिक संकटपूर्ण अवस्था कहिलेसम्म कायम रहला भनेर युवा उद्यमीहरुले राखेको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको सरकारको आर्थिक अनुशासन नभएकाले यो सरकार रहेसम्म संकट रहिरहन्छ ।’

एमाले अध्यक्ष ओलीले उद्योगी व्यवसायीहरु संकटमा पर्दै जाने तर एमाले टुलुटुलु हेरेर मात्रै बसिरहन नसक्ने भन्दै त्यसका लागि पार्टीले जिम्मेवार भूमिका खेल्ने प्रष्ट पार्नुभयो ।

‘कोरोनाको महामारीमासमेत हामीले अर्थतन्त्रलाई बचाएका थियौं, संकट आउन दिएका थिएनौं, बैंकमा तरलताको अभाव थिएन, ब्याजदर बढ्न दिएनौं, आपूर्तीमा खास समस्या थिएन, ठूला पूर्वाधारहरुको काम रोकिएन तर अहिले न कोरोना छ, केही छैन, किन आर्थिक संकटपूर्ण अवस्था आउन खोज्यो भन्दा सरकारको गलत नीति छ, अनुशासन भएन,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले सरकारले लिएको गलत नीतिका कारण मुलुक निकै ठूलो आर्थिक मन्दीमा फस्न पुगेको पनि बताउनु भयो । ‘अहिलेको तस्वीर देखेपछि नै पुग्छ, यो समस्या कहिले टुंगिएला भनेर, यो सव सरकारकै कारण भएको हो,’ ओलीको भनाई थियो ।

उहाँले बैंकहरूको गलत नीति र रवैयाले पनि उद्योगीहरुलाई संकटमा परेको थप दृष्टान्त सुनाउनु भयो । ओलीले बैंकहरुले त्यसलाई सच्चाउन जरुरी रहेको आवश्यकतासमेत औल्याउनु भयो । ‘ऋण लिएर कुनै काम गर्न पाएको छैन, ब्याज र किस्ता माग्न सुरु गर्छ, जसले बैंक चलाइदिएको छ, तोकेको ब्याज दिएको छ, उसैलाई दुःख दिएको छ, जुन प्रयोजनका लागि ऋण दिएको हो, त्यसको रिटर्न नभइञ्जेलसम्म त कसरी उसले ब्याज किस्ता तिर्न सक्छ ?’ ओलीको प्रश्न थियो, ‘किसान वा उद्यमीलाई धरौटी राख्ने नीति नै ठिक छैन, प्रोजेक्ट हेरेर लोन दिने हो, कम्तीमा पनि लोनको अवधि १०/१२ वर्ष बनाउनुपर्छ ।’

ठूला हाइड्रोपावर, राष्ट्रिय राजमार्ग विस्तार, विभिन्न करिडोर र औद्योगिक क्षेत्र स्थापना, पालिकामा अस्पतालहरु जस्ता महत्वपूर्ण संरचनाहरुको काम आफू सरकारमा हुँदा थालेको भन्दै उहाँले त्यसपछिका सरकारले कुनै ठोस नयाँ पूर्वाधार विकासमा काम गर्न नसकेको बताउनु भयो । रोजगारी दिने ठाउँ भनेको सरकारी जागिर जस्तो मात्रै भएको भन्दै ओलीले लाखौंलाई देशभित्र नै रोजगारी सिर्जना गर्नका लागि उद्योगहरु खोल्नुपर्ने र राज्यले त्यसमा सहजीकरण गर्नेपर्ने धारणा राख्नुभयो ।

युवाहरुको पलायन खतरनाक कुरा भएकाले ब्रेन ड्रेन र मसल ड्रेनलाई रोक्नुपर्ने ओलीको भनाई छ । उब्जनी हुने खेतबारी बाँझै राखेर युवाहरू खाडी लगायतका देशमा पलायन हुनुमा केही न केही कमजोरी भएको उहाँको भनाई थियो । अध्यक्ष ओलीले अहिले मुलुकमा खतरनाक प्रबृति हावी भइरहेको भन्दै सवैलाई सचेत गराउनु भयो ।

‘जनताले पनि काम गरेको देखेन, इतिहास देखेन, हाँहुँका पछाडि कुद्यो, कहिलेकाहीँ इतिहासमा यस्ता समस्या आउँछन, यस्तोमा तर्क विवेकले काम गर्दैन, एकछिन कुदनका लागि काम गर्छ, सेन्टिमेटले देश बन्दैन । जबसम्म आम रूपमा रियलाइज गर्दैनौं तबसम्म काम लाग्दैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीको भनाई थियो ।