काठमाडौं,२० असार  । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रममा दिएको गैरजिम्मेवार अभिव्यक्तिलाई लिएर त्यस विषयमा छलफल गर्न दिउँसो साढे एक बजे संसदीय दलको बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले दिएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यस विषयमा जानकारीसमेत माग्ने एमालेको तयारी छ । सरदार प्रितम सिंहमाथि लिएको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए ।

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको दाहालले खुलासा गरेका थिए ।प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवार रहेको भन्दै सत्ता गठबन्धन दल भित्रैका नेताहरुले समेत आश्चर्य प्रकट गरेका छन् । प्रधानमन्त्रीले कतिबेला के बोल्ने भनेर तयारी नगरेको देखिएको नेताहरुको टिप्पणी छ । प्रधानमन्त्रीको सचिवालयले भने उक्त अभिव्यक्तिको बचाउ गरेको छ ।