काठमाडौं,२० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘आफुलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरैपटक दिल्ली पुगेको’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा तरंग पैदा भएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ ले सरदार प्रीतम सिंहको प्रशंसा गर्दै आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको स्मरण गरेका थिए ।
‘उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेतासँग पनि लगातार छलफल गर्नुभयो । राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ उहाँ,’ सिंहको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले भने ।
यो अभिव्यक्तिपछि कतिपयले प्रधानमन्त्री प्रचण्डले विवादस्पद अभिव्यक्ति दिएको भन्दै आलोचनासमेत सुरू गरेका छन् ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारत धाउने सरदार प्रीतम सिंह को हुन् त ?
सरदार प्रीतम सिंहको जन्मघर भारतको जम्मू कश्मीर हो । उनी पेशाले पाइलट थिए । भारतमा जन्मिए पनि उनले ७० वर्षदेखि कर्मभूमि नेपाललाई बनाए । प्रीतम सिंहले नेपाल पब्लिक मोटर्स सर्भिस कम्पनी खोलेर यातायातका माध्यमबाट नेपालको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
एक बखत; प्रीतम सिंह, उनका बुवा कहन सिंहसहित स–परिवार नेपाल घुम्न आएका थिए । त्यसबेला नेपालका यातायात क्षेत्र, सडक तथा व्यावसायमा सम्भावना देखेपछि उनी पुन: दोस्रो पटक नेपाल आए ।
त्यसेबला उनले राजा महेन्द्रसँग भेट गरेका थिए । पछि राजा महेन्द्र जम्मूको अमरनाथ यात्रामा जाँदा उनीहरुबीच दोस्रो पटक भेट भयो । त्यसपछि महेन्द्रले नेपालमा व्यवसाय गर्न सिंहलाई आग्रह गरेका थिए ।
त्यही प्रस्तावपछि प्रीतम सिंहले नेपाल आएर व्यवसाय सुरू गरेका हुन् । उनी बुबा कहनसिंहसँगै ट्रक लिएर नेपाल भित्रिएका थिए । नेपालमा भित्रिएको त्यो नै पहिलो ट्रक थियो । त्यही बेलादेखि नेपालमा सार्वजनिक ढुवानीको जग बसेको बताइन्छ।
यसपछि उनले नेपालको यातायात क्षेत्रमा मात्रै होइन, शिक्षा क्षेत्रमा समेत योगदान दिएका छन् । उनले स्थापना गरेको मोर्डन इन्डियन इंग्लिस स्कूलले शिक्षा क्षेत्रमा धेरै योगदान दिएको छ ।
उनले भन्ने गरेका छन्, ‘मैले नेपालको यातायात क्षेत्रमा झन्डै २५ प्रतिशत योगदान दिएँ होला ।’ प्रीतम सिंहको राजा महेन्द्रसँग मात्रै होइन, हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि राम्रो सम्बन्ध छ ।
प्रचण्डले गरेकै जनआन्दोलनहरूका कारण राजतन्त्र गर्ल्यागुर्लुम ढलेको देखे साक्षी एक प्रीतम सिंह पनि हुन् ।प्रचण्डलाई उनले शान्ति प्रक्रियामा आएसँगै भेटेका हुन् । प्रचण्डसँग अहिले पनि उनको भेटघाट भइरहन्छ । दृष्टीबाट




















