काठमाडाैं,२० असार । नेकपा एमालेका सांसद् रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे अभिव्यक्तिले नेपालकाे स्वाभिमानमाथि आघात पुगेकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै सांसद् पन्तले प्रधानमन्त्री प्रचण्डकाे अभिव्यक्तिले सिंगाे देश राेएकाे र नेपाली जनताकाे स्वाभिमानमा ठेस पुगेकाे बताउनुभयाे ।
नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएकाे भन्दै उहाँले लेन्डुप दोर्जेको नेपाली संस्करण नचाहिएको प्रष्ट पार्नुभयाे । देशले प्रधानमन्त्रीकाे अभिव्यक्तिबारे मेचीदेखि महाकालीसम्म प्रश्न साेधिरहेकाे बताउँदै सांसद् पन्तले भन्नुभयाे - 'नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएकाे हाे, देशकाे हक, हित र स्वाभिमानकाे रक्षा गर्ने, टेबुलमा वार्ता गर्दा देशकाे पक्षमा अडान लिन सक्ने प्रधानमन्त्री चाहिएकाे हाे, लेन्डुप दोर्जेको नेपाली संस्करण चाहिएकाे हाेइन ।'
प्रधानमन्त्रीलाई सम्बोधन गर्दा ‘सम्माननीय’ भन्न पनि मन नलागेको समेत उहाँले बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले असार १८ गते प्रितम सिंहबारेकाे पुस्तक विमाेचनमा दिएकाे अभिव्यक्तिले नेपालीकाे मन राेएकाे र नेपालीकाे स्वाभिमानमा ठेस लागेकाे सांसद् पन्तले बताउनुभयाे । 'उहाँले दिएका अभिव्यक्तिले हाम्रो मनमा बादल लागेको छ, प्रत्येक नेपालीकाे स्वाभिमानमा ठेस लागेकाे छ, नेपाल रोएको छ, नेपालको स्वाभिमान गिरेको छ, उहाँले भन्नुभयाे - उहाँ प्रितम सिंहले एकपटक प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयाे, धेरैचाेटी दिल्ली जानुपनि भयाे, नेपालको प्रधानमन्त्री बनाउन जनतातिर फर्किने कि दिल्ली जाने हो ? नेपालको प्रधानमन्त्री बनाउन दिल्ली जानुपर्ने ?'- उहाँकाे प्रश्न छ ।
प्रधामन्त्रीकाे अभिव्यक्तिले देशकाे स्वाभिमान र गरिमा गिरेकाे सांसद् पन्तले बताउनुभयाे । बलभद्र कुँवर, भक्ति थापा र अमरसिंहका सन्तान नेपालीलाई देशकाे स्वाधिनता, वीरता र भाैगाेलिक अखण्डता सबैभन्दा प्याराे रहेकाे उहाँले बताउनुभयाे । नेपालीहरु आफ्नाे देशकाे स्वाभिमान जाेगाउन नेपालीहरु मरिमेटेर लागिरहेका बेला देशकाे स्वाभिमानमाथि आफ्नै प्रधानमन्त्रीबाट प्रहार हुनु आपत्तिजनक रहेकाे सांसद् पन्तले बताउनुभयाे । 'तर त्यही स्वाभिमानमाथि आघात हुन्छ, प्रहार हुन्छ, त्याे पनि अन्तबाट हाेइन आफ्नै प्रधानमन्त्रीबाट, याे दुर्भाग्यकाे दिन आज किन देख्नुपर्याे ? के प्रधानमन्त्री सबभन्दा ठूलाे कुरा हाे, प्रधानमन्त्री पद निर्णायक हाे ? देशकाे स्वाभिमान, देशकाे अखण्डता र गरिमा भन्दा पनि बढी ?'- उहाँकाे प्रश्न छ ।
प्रधामन्त्रीकाे अभिव्यक्ति असह्य रहेकाे भन्दै सांसद् पन्तले नैतिकताकाे आधारमा पदमा बस्ने अधिकार प्रधानमन्त्रीलाई नभएकाे बताउनुभयाे ।सांसद् पन्तले भन्नुभयाे - 'प्रधानमन्त्रीले जे बाेल्नुभयाे, नैतिकताकाे आधारमा उहाँले पदमा बस्न उपयुक्त हुँदैन, उहाँले राजीनामा गर्नुस्, जाेसकुै प्रधानमन्त्री बनाेस्, दिल्लीतिर नफर्कने, नेपालतिरै फर्किने, नेपालकाे माटाेतिरै फर्किने प्रधानमन्त्री चाहियाे, जसले याे देशकाे स्वाभिमान, गरिमा र मर्यादालाई रक्षा गर्न सकाेस् ।'
प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक अगाडि बढ्न नसक्ने उहाँले बताउनुभयाे । 'याे विषय क्लियर नभएसम्म प्रधानमन्त्रीकाे राजीनामा नआएसम्म याे संसद् अब अगाडि बढ्न सक्दैन'- सांसद् पन्तले भन्नुभयाे ।




















