काठमाडौं,२१ साउन । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपालाई कसैले घेराबन्दी गरेर पराजित गर्न नसक्ने बताउनुभएको छ ।  

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको प्रथम साधारण सभालाई आइतबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपाल पराजित हुन जन्मिएको संस्था नभएको बताउनुभयो । नेपाल पत्रकार महासंघमा अहिले छानिछानी पत्रकार फाल्ने अभियान सुरु भएको बस्नेतले बताउनुभयो । ‘गठबन्धनका आधारमा पत्रकार महासंघमा निर्वाचित भएका साथीहरू छानिछानी पत्रकारलाई फल्ने अभियानमा छन्’, उहाँले भन्नुभयो । 

पत्रकार सुद्धिकरणको कामको नेतृत्व प्रेस चौतारी नेपालले नै गरेको बताउँदै बस्नेतले पत्रकार महासंघको साधारण सभाले सदस्यता छानबिनको लागि बनाएको समितिमा नाम नै पठाई जिल्ला र प्रदेशबाट पत्रकार फाल्ने काम भइरहेको भन्दै आलोचना गर्नुभयो । त्यसको विरुद्ध केही जिल्लामा महासंघको कार्यालयमा तालाबन्दीको अवस्था सिर्जना भएको बस्नेतले बताउनुभयो । यस्तै भयो भने ७७ वटै जिल्ला र सबै प्रदेश कार्यालयमा प्रेस चौतारी नेपालले तालाबन्दी गर्ने उहाँले बताउनुभयो । 

गठबन्धनभन्दा बाहिर गएर लेख्ने पत्रकारलाई फाल्ने अभियान र ड्राइभर खलासीलाई पत्रकार महासंघको सदस्य भर्ने सुरु गरेको भन्दै बस्नेतले त्यसको परिणाम राम्रो नआउने चेतावनी दिनुभयो । ‘पत्रकार महासंघमा पत्रकारलाई फाल्ने, ड्राइभर खलासी राखेर पत्रकार महासंघको सदस्य भर्ने अभियान सुरु भएको छ’, उहाँले भन्नुभयो । 

पत्रकार हितका विषयलाई छाडेर पत्रकार महासंघलाई गठबन्धनको भातृ संस्था बनाउन खोजिन्छ भने प्रेस चौतारी नेपाल निर्मम तरिकाले उत्रिने उहाँले चेतावनी दिनुभयो । ‘सुतेको सिंहलाई ढुङ्गा हानि हानि उठाउने धृष्टता गरियो भने आफ्नै ज्यान खतरामा पर्छ’, उहाँले भन्नुभयो ।