विराटनगर — नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठकले ११ जिल्लाको अधिवेशनको मिति तय गरेको छ। विराटनगरमा मङ्गलबार सम्पन्न नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो।
जसअनुसार चैतको १३ र १४ गते उदयपुर, चैत १५ र १६ गते झापा, चैत १७ र १८ गते पाँचथर, चैत २३ र २४ गते सोलुखुम्बु, चैत २६ र २७ गते ओखलढुङ्गा, चैत २८ र २९ गते खोटाङको अधिवेशन हुने छन् । यस्तै वैशाखको ३ र ४ गते भोजपुर, वैशाखको २३ र २४ गते ताप्लेजुङ, वैशाखकै २५ र २६ गते तेह्रथुम र वैशाख २८ र २९ गते धनकुटाको जिल्ला अधिवेसन गर्नेगरी मिति एमालेले तय भएको एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
एमालेले संखुवासभामा अधिवेशन सम्पन्न गरिसकेको छ भने मोरङ र सुनसरीको अधिवेशन गर्ने मिति तोकिएको छैन ।बैठकले सदस्यता नवीकरण र वितरणलाई तीब्रता दिने र चैत मसान्तभित्र सदस्यता नवीकरण र वितरण गरिसक्नुपर्ने निर्णय पनि गरेको छ । एमाले प्रदेश समितिले सबै जिल्ला अधिवेशन जेठ मसान्तसम्ममा सक्ने कार्ययोजना बनाएको छ ।
एमालेले जिल्ला अधिवेशनबाट सर्वसम्मतीले नेतृत्व छान्न प्रयास गर्ने र सहमति नभए प्रक्रियाबाट टुंगोमा पुग्ने रणनीति बनाएको छ । बैठकले प्रदेश समितिका केही विभागहरु बनाउने निर्णय पनि गरेको एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीले बताए।




















