इलाम — नेकपा एमाले इलामका जिल्ला सचिव उमेश गुरुङले  इलाम क्षेत्र-२ मा जित आफ्नै दलको हुने दाबी गरेका छन । यस क्षेत्रमा पार्टी संगठन बलियो भएकाले जित्ने मुख्य आधार गुरुङले दावी गरेका हुन्  । 

‘हामी तीन–चार महिनादेखि नै यो क्षेत्रमा चुनावी तयारीमै केन्द्रित छौं, पार्टी संगठन बलियो छ, जित निश्चित नै छ,’ सचिव गुरुङ भन्छन्, ‘अब पनि पार्टीको सिंगो पंक्ति यही निर्वाचनमा केन्द्रित हुनेछ।’ 

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको गत भदौ २५ मा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। नेकपा (एमाले)ले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलन लिम्बू उम्मेदवार बनेका छन् । माओवादी केन्द्र छोडेर स्वतन्त्र उम्मेदारी दिने घोषणा गरेका लिम्बू रास्वपाका उम्मेदवार बनेका छन् उनलाई लाई पटक पटक पार्टी बदलिने गरेको आरोप लाग्ने गरेको छ । कांग्रेसले उम्मेदवार छनोट गर्न बाँकी छ ।

०७९ सालको निर्वाचनमा नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए। निकटतम् प्रतिद्वन्द्वी कांग्रेस जिल्ला सभापति तथा गठबन्धनका उम्मेदवार डम्बर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए।

समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ८६ मत ल्याएका थिए।

इलाम आगामी १५ वैशाख २०८१ गते हुन लागेको उपनिर्वाचनले इलामको माहोल तातेको छ ।