काठमाडौँ—प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक एमाले सांसद साजिदा खातुन सिद्धिकीले चलिरहेकै अवस्थामा बहिष्कार गरेकी छन्।

बुधबार बिहान सिंहदरबारमा कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल भइरहेका बेला उनी बैठकबाट बाहिरिएकी हुन्।

बैठक बहिष्कार गरेपछि प्रतिक्रिया दिँदै सांसद सिद्धिकीले सभापतिले बैठकलाई नियन्त्रणमा राख्न नसकेको र सत्तारूढ दल रास्वपाकी सांसद स्मृति सेञ्चुरीले आफ्नो नामै लिएर गालीगलौज गर्दासमेत सभापति मौन बसेको बताइन्।

"सभापतिज्यूले बैठकलाई आफ्नो नियन्त्रणमा राख्न सक्नुभएन। सत्तारूढ दल रास्वपाकी सांसद स्मृति सेञ्चुरीले मेरो नाम लिएर गालीगलौज गर्दा पनि रोक्न सक्नुभएन। त्यसमा आफ्नो असहमति राखेर बैठकबाट बाहिरिएकी हुँ," उनले भनिन्।

छलफलका क्रममा सांसद सिद्धिकीले उपसमितिको प्रतिवेदनमा समेटिएका केही विवादास्पद बुँदामा कडा असहमति जनाएकी थिइन्। विशेषगरी ‘जेनजी आन्दोलन’ का क्रममा पक्राउ परेकामध्ये गम्भीर अपराधबाहेकका व्यक्तिलाई रितपूर्वक थुनामुक्त गर्ने प्रस्तावप्रति उनले आपत्ति जनाएकी थिइन्।

"केही सजाय राखेर छुटाउने कि त्यत्तिकै छोड्ने? अपराध त अपराध हो, यसले भविष्यमा पनि समस्या पार्छ," उनले भनिन्।

त्यस्तै, सहकारी ठगीमा संलग्नलाई जेलबाहिर राखेर पीडितको रकम फिर्ता गराउने व्यवस्था तथा कैदीबन्दीमध्येबाटै ‘नाइके’ छान्ने पुरानै व्यवस्था निरन्तर राख्ने विषयमा पनि उनले कडा विरोध जनाएकी थिइन्।