काठमाडौं— पूर्वसांसद तथा वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन भएको छ। भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार उनको निधन भएको हो। उनी फोक्सोको क्यान्सरबाट पीडित थिए।
नेकपा एमालेबाट बस्नेत दुईपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। माधवकुमार नेपालले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेपछि बस्नेत उक्त पार्टीको केन्द्रीय उपाध्यक्ष बनेका थिए।
२००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत नेपालको वामपन्थी तथा कम्युनिस्ट आन्दोलनका पुराना नेतामध्ये एक थिए। उनी झापा आन्दोलनका अगुवा कार्यकर्तासमेत थिए।
पञ्चायती शासनविरुद्धको आन्दोलनका क्रममा पक्राउ परेका बस्नेतले करिब १७ वर्ष जेल जीवन बिताएका थिए। उनी नख्खु जेल विद्रोहका प्रमुख पात्रमध्ये एक थिए।
बस्नेत २०४८ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए। उनका एक छोरा छन्।
उनको निधनले नेपालको वामपन्थी आन्दोलनमा लामो समय योगदान दिएका एक पुराना नेता गुमेको छ।


