विराटचोक — सुन्दरहरैँचा नगरपालिकाले लामो समयदेखि पालिकामा कार्यरत कर्मचारीहरुको करार सम्झौता नवीकरणमा हेलचेक्र्याइँ गर्ने गरेको पाइएको छ । नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतले हेलचेक्र्याइँ गरेको कारण सुन्दरहरैँचा नगरपालिकाका दुईजना करारका कर्मचारीहरुको करार सम्झौता नवीकरण नभएको हो ।
श्रोतका अनुसार उनीहरुको करार सम्झौता केही समयअघि नै सकिएको थियो । करारको म्याद सकिएपछि करार सम्झौता नवीकरणको फायल तत्कालिन नगरपालिकाका प्रमुख प्रसाशकीय अम्बिका प्रसाद चौलागाईंको टेवलमा पुगेको थियो । तर उनले 'काम सन्तोषजनक नभएको' भन्दै करारका दुई कर्मचारीको म्याद थप नगरी पेण्डिङमा राखेर सरुवा लिई हिँडेका थिए ।
चौलागाईले हेलचेक्र्याइ गरी म्याद थप नगरेका कारण अलपत्र पर्नेमा एकजना इन्जिनियर र अर्का एकजना सुन्दरहरैँचा नगर अस्पतालका प्रशासन प्रमुख छन्।
त्यसरी म्याद नथपिएका कर्मचारीहरुमा सुन्दरहरैंचा नगर अस्पताल प्रमुख बाबुराम भट्टराई र पूर्वाधार विकास शाखाका इन्जिनियर सुनिल अधिकारी छन् । यद्यपी करार सम्झौता नवीकरण नगरिए पनि उनीहरू नगरपालिकामा कार्यरत नै छन् ।सुन्दरहरैँचाको पछिल्लो नगरसभाले करारमा नियुक्त कर्मचारीहरुको म्याद थप गर्ने निर्णय गरेको बताइएको छ ।
दुइजना कर्मचारीको लामो समयसम्म करार सम्झौता थप नभएको बारे सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद न्यौपानेलाई सोध्दा प्रसाशन शाखामा सोध्न भने । त्यसपछि नगरपालिकाका सूचना अधिकृत गुणनिधी दाहाललाई त्यसबारे सोध्दा लामो समयसम्म कर्मचारीको करार सम्झौता नवीकरण नभएको पुष्ठी गर्दै सम्झौता नवीकरणको प्रोसेसमा रहेकोले सोबारे समाचार प्रकाशन नगरिदिन आग्रह गरे । उनले करारमा कार्यरत अन्य कर्मचारीहरुको बिवरण दिनै चाहेनन् ।
करार सम्झौता नवीकरण नगरे पनि नगरपालिकामा कार्यरत इन्जिनियर सुनिल अधिकारीलाइ यसबारे सोध्दा शुरुमा त अक्मकिँदै आफुलाइ त्यसबारे थाहा नै नभएको जिकिर गरे । तर केही बेरपछि प्रतिप्रश्न गर्दै भने 'करार सम्झौता नवीकरण नभई कसरी तलब आउँछ त ? " उनले अक्मकिदै भने "भैसक्यो" ।
उता २०७१ सालदेखि 'कम्प्युटर अपरेटर' पदमा करार नियुक्ति पाएपछि बर्षेनी म्याद थप गर्दै निरन्तर काम गरिरहेका र पाँच महिनादेखि सुन्दरहरैंचा नगर अस्पतालमा प्रशासन प्रमुखको जिम्मेवारी सम्हालिरहेका बाबुराम भट्टराईले यस बिषयमा बोल्न चाहेनन् ।




















