नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठक  ललितपुरमा आजदेखि शुरु हुँदैछ। 

गोदावरीस्थित सनराइज सभाहलमा आइतबारसम्म चल्ने बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार चार सय ५४ जना सहभागी हुनेछन्। 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने छन् भने केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

परिषद्को बैठकमा मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्याङ संकल्प यात्राको समीक्षा गर्दै पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्नेछन् । 

हीरक महोत्सव मनाउने तयारी 

एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा पार्टीले हीरक महोत्सव मनाउने भएको छ। वैशाख १० गते सभाहलमा नै एक विशेष समारोहको आयोजना गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत राजनीतिक दलका प्रमुख नेता सहभागी हुनेछन्।