काठमाडौं —  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर रहेको तथ्य राखेका छन  ।

शनिवारबाट  गोदावरीमा सुरू भएको नेकपा एमाले पहिलो राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यताका २९ महिना देश र र पार्टीको लागि अत्यन्तै चुनौतीपूण र कष्टकर रहेका बताए ।

पार्टी विभाजन, पार्टीलाई सकारबाट हटाइने कुरा तथा एमाले विरुद्धको साझा गठबन्धन नेकपा एमालेका लागि निक्कै चुनौतीपूर्ण रहेको ओलीले स्पष्ट पारे  । ‘घेराबन्दी, भ्रम प्रचार, आक्रमणका माध्यमबाट नेकपा एमालेलाई समाप्त पर्ने षडयन्त्रलाई चिर्दै हामी आज तुलनात्मक रूपमा अनुकूल परिस्थितिमा आइपुगेका छौँ’, ओलीले भने ।

अहिलेको अवस्थालाई अत्यन्त जटिल र कठिन परिस्थितिलाई पार गरेर तुलनात्मक रूपमा अनुकूल स्थितिमा आइपुगेको मान्नु पर्ने ओलीले विश्लेषण गरे  । यद्यपि आज पनि पार्टी र देशका सामुन्ने चुनौती रहेका ओलीले बताए ।

निर्णायक राष्ट्रिय शक्तिको रूपमा नेकपा एमालेलाई स्थापित गर्ने र त्यही निर्णायक शक्तिका माध्यमबाट देशमा शान्ति, स्थायित्व, शासन, राष्ट्रिय हित र स्वाभिमान कायम गर्दै समृद्धि र समाजवादको आधार तयार गर्ने मुख्य अभिभारा नेकपा एमालेको सामु रहेको उनले प्रष्ट पारे  ।

प्रतिनिधि परिषद् बैठकले महाधिवेशन यताका करिब साँढे दुई वर्षको वस्तुनिष्ठ समीक्षा गर्दै सो अभिभार पूरा गर्न आगामी दिनमा गर्नुपर्ने काम बारे आवश्यक निर्देश दिने ओलीले विश्वास व्यक्त गरे ।