काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई आज (आइतबार) को संसदमा बोल्न दिने विपक्षी मोर्चाको बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो ।
गृहमन्त्रीले जवाफ दिइसकेपछि त्यसमा चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने नेपाली कांग्रेसका एक नेताले जानकारी दिएका छन् । विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए ।
सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको थियो । कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् ।
विपक्षी दलको वैठकमा सहभागी राप्रपाका प्रवक्त ज्ञानेन्द्र शाहीका अनुसार रविले दिने जवाफमा प्रतिपक्षी दलहरू सहमत भएको खण्डमा संसदीय समितिको माग समेत फिर्ता लिने र संसद चल्न दिने समझदारी भएको छ । अन्यथा संसदीय समितिले पूर्णता नपाउन्जेल संसद चल्न नदिने बैठकले निर्णय लिएको शाहीले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ७ गते संसदमा विश्वासको मत माग्दैछन् । यदि प्रतिपक्षले संसद अवरोध जारी राखे विश्वासको मत लिने प्रक्रिया पनि अवरुद्ध हुन सक्छ । हिजो दलहरुबीच संसदीय समिति गठन गर्ने विषयमा सहमति भइसकेको छ । संसदीय समितिको टीओआर बनाउन एउटा कार्यदल बनाइएको छ, जसको बैठक अहिले बसिरहेको छ ।




















