काठमाडाैं । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छिन् ।
राणा सिडको सदस्यमा फेरि निर्वाचित भएकी हुन् । अमेरिकाको न्यूयोर्कमा भएको निर्वाचनमा राणाले एक सय ४६ मत प्राप्त गरिन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्ने छिन् ।
नेपालका तर्फबाट विजयी भएपछि राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले गरेको सहयोगका लागि धन्यवाद दिएका छन् । २३ सदस्य रहने उक्त समितिले विश्वव्यापी रूपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसंघमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदबारेमा अनुगमन गर्ने गर्छ । उक्त समितिको कार्यालय जेनेभामा रहेको छ ।


