बेलबारी—मोरङको बेलबारी-११ स्थित लक्ष्मीमार्गमा बेलबारी नगरपालिकाको आयोजनामा प्रथम विद्यालय तह शैक्षिक प्रर्दशनी २०८१ आईतबार सम्पन्न भएको छ । ४ दिनसम्म सञ्चालन भएको प्रर्दशनीले बेलबारी नगरपालिकाको बास्तविकता भ्रम र यथार्थ समेत चित्रण गरेको छ ।
लक्ष्मी माविको खेलमैदानमा बिहिबार बिहान एक औपचारिक कार्यक्रमका बिच प्रर्दशनीको मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले ड्रोन उडाएरर उदघाटन गरे । उदघाटन अघि मुख्यमन्त्रीले बिभिन्न विद्यालयका शैक्षिक र बिज्ञान प्रर्दशनी समेत गरी झण्डै एक घण्टा अबलोकन गरे तर अचम्मको कुरा चाँहि मुख्यमन्त्रीले उडाएको ड्रोन कुन विद्यालयका कुन विद्यार्थीले निर्माण गरेका हुन भन्ने प्रर्दशनी अबधिभर कहिँ कतै चर्चा भएन । प्रर्दशनीमा हाईड्रोपावर लगायत दर्जनौँ बिज्ञानका प्रर्दशनी गरियो । ति प्रर्दशनीहरुको व्यत्तिगत रुपमा र सामुहिक रुपमा चर्चा पनि भयो तर बिडम्बना प्रर्दशनीमा चाँही आयोजकले न त उनीहरुको नाम नै लियो न त उनीहरुको प्रोत्साहनका लागि कुनै प्रतियोगिता वा कुनै पुरस्कार नै दिईयो,दिईयो त केवल उहि पुृरानै ढर्रामा गायन र नृत्य प्रतियोगिता आयोजना गरेर पुरस्कार ।
४ दिनसम्म सञ्चालन भएको प्रर्दशनीमा चित्रकला कार्यशाला तथा प्रतियोगिता,भाषा साहित्य प्रर्दशनी,राष्ट्रिय लोक नृत्य प्रतियोगिता (सिनियर जुनियर) सामाजिक ईतिहास तथा भुगोल सम्बन्धी प्रर्दशनी,खाना तथा युवा उद्यमशीलता प्रर्दशनी,सामुहिक छलफल (प्यानल डिस्कसन) गणित तथा बिज्ञान प्रर्दशनी,नाटक प्रर्दशनी,बिभिन्न विद्यालयहरुका सृजनात्मक तथा साँस्कृतिक प्रर्दशनी आयोजना हुने नारा त दिईयो तर संस्थागत बिद्यालयले वर्षौदेखि अभ्यास गरिरहेको गायन,नृत्य लगायत केही प्रतियोगिता बाहेक अन्य नयाँ कुरा केही देखिएन । भएका प्रतियोगितामा पनि सामुदायिक विद्यालयहरु निरिह नै देखिए ।
प्रतियोगिता शुरु देखि अन्तिम सम्म एकै किसिममा अतिथिको प्रवेश पनि राम्रै चर्चा पायो । शुरु देखि अन्तिम सम्म हरेक दिन एकै पार्टीका नेताहरुको मात्र प्रबेश र भजनले पनि कार्यक्रममा एउटै पार्टी मात्र हाबी भएको आभाष गरायो । कतिसम्म भने उदघाटनका दिन पार्टीका तर्फबाट बोलाईएका अतिथिहरुको नाम समेत नलिईँदा धेरै अतिथिहरु बाहिरिए । कार्यक्रममा नगरपालिकाले आफुहरुको अपमान गरेको धेरैले सार्बजनिक रुपमै प्रतिक्रिया दिईरहेका छन । कार्यक्रम एक वा दुई जनप्रतिनिधिको ईशारामा भएको र केही कर्मचारी हावी हुँदा कार्यक्रम नारा भन्दा पनि ब्यत्तिगत स्वार्थका लागि जस्तो भएको धेरैको बुझाई रहयो ।
अघिल्लो वर्ष भएको यहि किसिमको कार्यक्रममा ५ लाख पनि खर्च नभएकोमा यसपटक सोही कार्यक्रम गर्न २० लाख बढी खर्च भएको प्रति समेत धेरैले चासो राखेका छन ।
आफनै हात जगन्नाथ कहिले सम्म ?
स्थानीय संघसंस्था र सर्बसाधारण नागरिकले १० हजारको कुनै काम गर्नुपर्यो भने टेण्डर खुलाउने,नगरपालिकाले २० औँ लाख खर्च गरेर गर्ने कार्यक्रममा चाँहि टेण्डर खुलाउनु पर्दैन ? आफनो निकट र गुणगान गाउनेलाई बिना टेण्डर लाखौको काम सुम्पिने नगरपालिकाले सबैलाई समान ब्यबहार गर्नुपर्ने हैन र ? कि जे गरेपनि छुट हुने हो ? आफनै हात जगन्नाथ भने झै अरु संस्था र पसलको नियमन र अनुगमन गर्नेले आफुले गरेका लाखौँ रकम खर्च र बेरुजुको चाँहि हिसाब सार्बजनिक गर्नु पर्ला कि नपर्ला ? यतिबेला जनजनले प्रश्न गरिरहेका छन ।बेतना दैनिक बाट




















