गाइघाट— उदयपुरको त्रियुगा नगरपालिका वडा नं.–४, बगाहस्थित श्री मनकामना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गरिएको छ ।
एमाले उदयपुरका पूर्व अध्यक्ष तथा कोशी प्रदेश संगठन विभाग सचिव परमेश्वर घिमिरेको पहल र ग्रामीण वातावरण विकास केन्द्र (REDC)को सहयोगमा मंगलबार एक कार्यक्रमका बीच ४० जना विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गरिएको हो ।
कार्यक्रममा नेता घिमिरेले बोल्दै उक्त सहयोगले विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्न र उनीहरूलाई थप प्रेरित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै, उनले ग्रामीण क्षेत्रका विद्यालयहरूको सुधार र विद्यार्थीहरूको आवश्यकता पूरा गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
उपस्थित अन्य अतिथिहरूले यस कार्यक्रमले विद्यार्थीहरूलाई पढाइप्रति थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै पनि सामाजिक कार्यमा यस्ता पहलहरूले सामुदायिक विकासमा सकारात्मक प्रभाव पार्ने बताएका थिए।
कार्यक्रममा कोशी प्रदेश सभाका पूर्व सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य अम्बिका थापा,अधिवक्ता तथा समाजसेवी वैकुण्ठनाथ दाहाल,पूर्व वडाध्यक्ष सुभास निरौला, महिला मानव अधिकारकर्मी माया भण्डारी,त्रियुगा उद्योग वाणिज्य संघका पदाधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
त्यसैगरी सम्पूर्ण शिक्षक, शिक्षिका, अभिभावक, र स्थानीय समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमलाई स्थानीय अभिभावक राजेन्द्र भण्डारीले सञ्चालन गरेका थिए ।





















