विराटनगर —नेकपा (एकीकृत समाजवादी) मोरङ जिल्ला कमिटीका सदस्य सन्तोष लिम्बूले पार्टीको नवौं जिल्ला अधिवेशनमा देखिएको असन्तुष्टिका कारण जिल्ला कमिटीको सदस्य पदबाट राजीनामा दिएका छन्।

लिम्बूले सोमबार एक लिखित निवेदनमार्फत राजीनामा दिएका हुन्। उनले पार्टीको निर्वाचन प्रक्रिया र नेतृत्वको कार्यशैलीप्रति असन्तोष व्यक्त गर्दै आफ्नो राजीनामा पत्रमा पार्टीको विधि, पद्धति, र विधान विपरीतका क्रियाकलापहरूलाई खेद प्रकट गरेका छन्।

लिम्बूले पार्टीको नवौं जिल्ला अधिवेशनमा उपसचिव पदका लागि मनोनयन दर्ता गराए पनि निर्वाचन आयोगले प्रक्रिया पूरा नगरी उम्मेदवारहरूलाई भ्रमित पारेको आरोप लगाएका छन्।

उनले अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको नामावली मनोमानी ढंगले पार्टी कार्यालयको भित्तामा टाँसिएको र यसको जानकारी सामाजिक सञ्जाल तथा अनलाइन समाचारहरूबाट मात्र प्राप्त भएको उल्लेख गरेका छन्।

लिम्बूका अनुसार आकांक्षी उम्मेदवारहरूसँग कुनै परामर्श नगरी 'टिके लिस्ट' तयार पारिनु नेतृत्वको गैरजिम्मेवार कदम हो। उनले यस्तो स्थितिमा काम गर्न कठिन भएको जनाउँदै राजीनामा दिनुको विकल्प नरहेको बताएका छन्।

लिम्बूले पार्टीको विधि, पद्धति, र सिद्धान्तलाई सम्मान गर्दै तल्लो कमिटीमा बसेर पनि काम गर्न सकिने उल्लेख गरेका छन्। उनले राजीनामासँगै पार्टीको सही मार्गदर्शन र सुधारका लागि आग्रह गरेका छन्।

अधिवेशनको ६ दिनपछि बलदेव चौधरी नेतृत्व रहेको अध्यक्ष मण्डलले नयाँ नेतृत्व चयन गरेको थियो ।  अधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले चैत १९ मा विराटनगरमा उद्घाटन गरेका थिए ।

WhatsApp Image 2025-04-07 at 14.46.59_1ddd7740 1