• भगवती अर्याल 

विराटचोक — यस वर्षको एसईई परीक्षामा मोरङको सुन्दरहरैँचा-६ स्थित साजीलाल माध्यमिक विद्यालयले विद्यालयको इतिहासमै सर्वोत्कृष्ट नतिजा हासिल गर्दै सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षामा अब्बल हुन सक्ने प्रमाणित गरेको छ।

२३४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदा २१२ जना उत्तीर्ण भएका छन्, जसले विद्यालयलाई ९०.६% उत्तीर्ण दरमा पुर्‍याएको छ। विशेषगरी ३.२ GPA भन्दा माथि ल्याउने विद्यार्थीको संख्या १०७ हुनु विद्यालयको उत्कृष्ट शिक्षण प्रणाली र व्यवस्थापनको प्रमाण हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाले यो सफलता शिक्षक, विद्यार्थी र अभिभावकहरूको सामूहिक प्रयासको परिणाम भएको बताए। साथै, विद्यालयका प्राचार्य श्यामबाबु काफ्लेले यो उपलब्धि विद्यालयको शिक्षण स्तरमा सुधारको संकेत भएको र आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्य रहेको जानकारी दिए।

यो पनि —साजिलालका दुई विद्यार्थी अन्तर्राष्ट्रिय युवा कार्यक्रमका लागि मनोनित

साजीलाल माध्यमिक विद्यालयको यो ऐतिहासिक नतिजाले सामुदायिक विद्यालयहरूलाई गुणस्तर शिक्षाको प्रतीक बनाउँदै निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने सम्भावना बलियो बनाएको छ। 

पछिल्लो समय सामुदायिक विद्यालयहरूले एसईई परीक्षामा उत्कृष्ट नतिजा निकाल्न थालेपछि अभिभावकहरूबीच सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्दै गएको छ। गुणस्तरको शिक्षा निःशुल्क वा न्यून शुल्कमा उपलब्ध गराउन सामुदायिक विद्यालयहरूको प्रयासले निजी विद्यालयको महँगो शुल्कको आकर्षण घट्दै गएको छ।

"बोर्डिङ स्कुलमा होस्टल, कोचिङ्ग, र अन्य शुल्कमा धेरै खर्च गराउँदा पनि सामुदायिक विद्यालयले राम्रो नतिजा निकाल्न थालेका छन्," एक अभिभावकले भने। उनले गुणस्तरीय शिक्षा सस्तोमा उपलब्ध हुने हुँदा अब निजी विद्यालयमा महँगो शुल्क तिर्न आवश्यक नरहेको धारणा व्यक्त गरे।

साजीलाल माध्यमिक विद्यालय जस्तै सामुदायिक विद्यालयहरूले पछिल्लो समय शिक्षकहरूको समर्पण, विद्यार्थीको मेहनत, र अभिभावकहरूको समर्थनले उत्कृष्टता हासिल गर्दै आएका छन्। यसले सामुदायिक विद्यालयहरूको महत्वलाई नयाँ उचाइमा पुर्‍याएको छ।