स्वास्थ्य  समाचार—हामी सबै आफ्नो भान्छालाई स्वास्थ्यको खजाना मान्छौं, तर तपाईँलाई थाहा छ कि त्यही भान्छामा तपाईँको स्वास्थ्यका सबैभन्दा ठूला दुश्मन पनि हुन सक्छन्। विशेषगरी कलेजोको कुरा गर्दा, भान्छामा भएका केही चीजले विस्तारै कलेजोलाई क्षति पुर्‍याउन सक्छन्। कलेजो शरीरको महत्त्वपूर्ण अंग हो, जसले रगत सफा गर्ने र टक्सिन्स (विषादी पदार्थ) हटाउने काम गर्छ। कलेजो कमजोर भएमा शरीरमा विभिन्न खालका रोगहरू फैलिन सक्छन्। यसैले, भान्छामा भएका कलेजोका यी ५ दुश्मनहरूबारे जानौं।

रिफाइन्ड तेल

दैनिक खाना पकाउँदा प्रयोग हुने रिफाइन्ड तेलमा ट्रान्स फ्याट हुन्छ, जसले कलेजोमा बोसो जम्मा गर्छ र फैटी लिभरको समस्या उत्पन्न गराउँछ। यो समस्याबाट बच्नका लागि तोरी, नरिवल वा अलिभ आयल जस्ता प्राकृतिक तेलको सीमित मात्रामा प्रयोग गर्नुहोस्।

अचार, पापड र अत्यधिक नुन हुने खानेकुरा

यी खानेकुरामा नुनको मात्रा धेरै हुने भएकाले कलेजोमा दबाब पर्न सक्छ र सूजन निम्त्याउन सक्छ। यस्तो समस्याबाट बच्न नुनको प्रयोगलाई कम गर्नुहोस्।

प्याकेटबन्द र फ्रोजन खाना

जस्तै, म्यागी, नुडल्स, चाउचाउ, स्न्याक्स आदि। यी खानेकुरामा प्रिजरभेटिभ र एडिटिभ्स हुन्छन्, जसले कलेजोका कोशिकाहरूलाई क्षति पुर्‍याउँछन्। यसले कलेजोलाई कमजोर बनाउन सक्छ।

चिनी र फ्रक्टोज

चिनी विशेषगरी फ्रक्टोजले कलेजोमा बोसो जम्मा गराउँछ। कोल्ड ड्रिंक्स, मिठाइ र प्याकेटबन्द जुसले कलेजो फैटी बनाउन सक्छ। त्यसैले यस्ता चिजहरूको सेवनलाई नियन्त्रण गर्नु जरुरी छ।

मदिरा (रक्सी )

भान्छामा राखिएको मदिरा कलेजोका लागि सबैभन्दा ठूलो दुश्मन हो। अत्यधिक मदिरा सेवनले कलेजो सिरोसिस जस्तो गम्भीर रोग निम्त्याउन सक्छ।

महत्त्वपूर्ण सूचना: यस लेखमा सामान्य जानकारी प्रस्तुत गरिएको छ। कुनै पनि स्वास्थ्यसम्बन्धी निर्णय लिनुअघि आफ्नो चिकित्सकसँग सल्लाह गर्नुहोस्।