काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा पेस भएका सबै विधेयकलाई संविधान अनुसार अघि बढाइने बताएका छन् ।
काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले भने – ‘संघीय संसदमा पेस भएका चालू विधेयक परिमार्जन र संशोधन गर्न र संविधानको भावना अनुसार नै बनाउन आफ्नो पार्टी दृढ रहेको विश्वास म संचारकर्मीलाई दिलाउँछु ।’
अध्यक्ष प्रचण्डले संघीय संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा निश्चिन्त हुन संचारकर्मीलाई आग्रह गरे । उनले भने – ‘प्रेसलाई संकुचन गर्ने, नियन्त्रण गर्ने कुनै पनि विधेयक आयो भने त्यो संविधानको मूल मर्म र भावना विपरित हुन्छ । अध्यक्ष दाहालले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि दोहोर्याए ।
अध्यक्ष दाहालले पूर्ण प्रेस स्वतन्त्रताको अर्थ फेरी अराजकता होइन, उदण्डता होईन भन्ने कुरामा ध्यान दिने काम संचारकर्मीले नै गर्नुपर्ने बताए । उनले पत्रकारिता क्षेत्रलाई राज्यले नियन्त्रण र नियमन गर्ने भन्दा पनि पत्रकार स्वयम्ले आफ्ना लागि कस्ता मूल्य र मान्यता आवश्यक पर्छ ? भनेर गम्भीर भएर सोच्नुपर्ने बताए ।




















