काठमाडौं, १४ असोज । संसद कार्यालयकै कर्मचारीमाथि बलात्कार गरेको आरोपमा सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनु परेको छ ।

६ पटक मन्त्री बनिसकेका प्रतिनिधि सभाका सभामुख महरामाथि लागेको बलात्कारको आरोपले नेपाली राजनीति क्षेत्र तरङ्गित भएको छ । यसै शिलशिलामा प्रहरीले पनि घटनाका बारेमा गम्भिर रुपमा चासो र सक्रियता देखाएको छ ।

सभामुख महरालाई यौन दूराचारको संगीन आरोप लगाएकी महिलाको कोठाबाट आज (मंगलबार) प्रहरीले जाँचबुझका लागि शंकास्पद मानिएका सामान नियन्त्रणमा लिएको छ । यौन दूराचारको घटनाले सबै सञ्चार माध्यमहरूमा पुगेको र घटनाले थप उचाइ लिएपछि प्रहरीले मंगलबार आरोप लगाउने महिलाको कोठाबाट सम्बन्धित जाँचबुझका लागि सहायक हुन सक्ने शंकास्पद बस्तु बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुबेदीले जानकारी दिएका छन् ।

हिजोको घटना भए पनि पीडित भनिएकी महिलाले अहिलेसम्म प्रहरीमा उजुरी भने नदिएको प्रहरीले बताएको छ । प्रहरीमा उजुरी गर्नुअघि पीडित महिलाको स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि उनले स्वास्थ्य परीक्षण अस्वीकार गरेको जनाइएको छ ।

पीडित महिलाले सोचेर तथा सल्लाह गरेर मात्र निर्णय लिने प्रहरी समक्ष बताएको एसपी सुवेदीले बताएका छन् । सभामुख महरा र ती महिलाबीच आइतबार बेलुका भएको भनिएको घटना लगत्तै महिलाले १०० फोन गरेर प्रहरी बोलाएकी थिइन् । प्रहरीले घटनास्थलको फोटो खिच्ने र सम्बन्धित शंकास्पद सामग्री बरामद गरेर फर्केको थियो । यौन दूराचारको आरोप लाग्नेमा महरा नेपालकै पहिलो उच्च पदस्त व्यक्ति हुन् ।

महरालाई यौन दूराचारको आरोप लागेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आकस्मिक बैठकले सभामुख महराले पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको थियो । त्यसलगत्तै आजै महराले उपसभामुख शिवमाया तुम्बहाम्फेलाई राजीनामा बुझाइ सकेका छन् ।

महिलाका श्रीमान काठमाडौं आउँदै
सभामुख कृष्णबहादुर महरामाथि यौन दूराचार आरोप लगाउने संसदकी कर्मचारीका श्रीमानसँग आफूले घटनाबारे ढिलो मात्र जानकारी पाएको बताएका छन् । उनले अहिले आफू काठडमौं आउँदै गरेको बताएका छन् ।

उनले आफू तनहुँतिर रहेको र घटना सुनेपछि फर्किदै गरेको बताएका छन् । उनले घटनाका बारेमा ‘मेडम’ श्रीमतीले पनि केही नभनेको बताएका छन् । आज (मंगलबार) बिहान काठमाडौं एक जना पत्रकारले फोन गरेर सोधेपछि मात्र घटनाबारे जानकारी भएको उनले बताएका छन् । मेडम (श्रीमती) को फोन स्वीच अफ रहेछ जानकारी दिंदै काठमाडौ आएपछि घटनाबारे विस्तृत जानकारी हुने उनले बताए ।