म राम्रो सँग बुझ्दछु शीर्षक हेर्ने अनि आफ्ना निजी कुण्ठा, आग्रह पूर्वाग्रह पालेर बस्नेहरू मध्य कतिपयले यहाँ पनि शीर्षक मात्रै हेरेर मलाइ नेपालको असली संस्कार सँग नमिल्ने ढंगले प्रतिक्रिया दिन सक्नु हुनेछ तर पनि आफूलाई लागेको सत्य बोल्न डराउने त कुरै भएन ।
त्यसैले म फेरी पनि भन्छु भाद्र २३ गते शान्तिपूर्ण प्रदर्शन गर्न आएका जेनजी युवाहरूको जे जसरी कत्लेआम भयो, त्यो बिल्कुल ठिक थिएन र हैन ।
त्यस हत्याका जिम्मेवारहरूले सजाएँ पाउनु पर्छ तर त्यसो भन्दै गर्दा पनि इमोसनल ब्ल्याकमेलको शैलीले त्यो अवस्था किन आयो र त्यो दुखद अवस्था भन्दा अगाडी के-के भयो भनेर विश्लेषण नगरी त्यस दिन बानेश्वरको संसद भवनमा प्रहरीहरू मानिस मार्न पूर्व तयारी साथ केवल गोली हान्ने आदेश मात्रै कुरेर बसेका थिए, आदेश आयो अनि तयारी अनुसार मानिसहरूको हत्या भयो भन्ने खालको कुप्रचार गरिनु हुँदैन थियो ।
तर विडम्बना अहिले त्यही भइरहेको छ । अहिले चर्चामा रहेको कथित बिबिसीको भिडिओ पनि त्यही कुप्रचार लाई बढवा दिन सहयोगी बनि रहको छ ।
यद्यपि त्यस भिडिओ तयार पार्नेहरूले पूर्ण सत्य देखाएनन् भन्दैमा, बिबिसीको सम्पादकीय टिमले आफ्नो कर्मचारी माथि अति विश्वास गर्दै भिडिओ प्रसारण नियोजित रूपमा गलत समयमा प्रसारण गर्यो भन्दैमा सञ्चार संस्था माथि नै धावा बोल्नु हुँदैन ।
त्यसको लागि त सबै मिलेर बिबिसीको नेतृत्वलाई उनीहरूले गलत मानिसहरूको भर परेर गलत समाचार प्रसारण गर्न पुगेको सत्य बुझाउँदै त्यस गल्ती स्विकार्न लगाउने पो हो । त्यसो गर्ने तरिका पनि छन् र विगतमा बिबिसीले आफ्ना कर्मचारीको गल्तीले बनेका गलत सामाग्री प्रति माफी मागेको पनि छ ।
हो अहिले बिबिसीको नेपाली टिमले गरे जस्तै Selective Journalism गर्ने कतिपयले गर्दा समाजले गलत सूचनाको मार सहनु परेको छ । तर के त्यस्तो भयो भन्दैमा हात उठाएर अफवाह, उत्तेजना मिश्रित सामाग्री र नियोजित कुप्रचार लाई नै हाबी हुन दिने हो त ? बिल्कुल हैन ।
त्यसैले केही कुत्षित मनसायले बिबिसीको नेपाली टिमले अपूर्ण सत्यलाई प्रचार गराउन, विगतमा रत्नपार्कमा विक्री हुने मध्यान्तर दैनिकले गर्ने जसरी सनसनीपूर्ण शीर्षक राखेर भिडिओ बनाइ प्रसारण गर्यो भन्दैमा आफू मारेर पनि कैयौँ पटक जनता जोगाएको सिंगो प्रहरी सङ्गठनलाई भिलेन करार गर्ने कामलाई बढवा दिने हो त ?
अनि विगत देखि आज सम्म संसार भर चल्दै आएको अभ्यास अनुसार फिल्डमा खटिएका प्रहरीले आफ्नो जीवन जोगाउनु पर्ने अवस्था आएकोले बल प्रयोग गर्न पाउँ भन्दा मागे अनुसारको आदेश दिनु लाई गलत ठहर गर्ने र आदेश गोली चलाउन सक्छौ भन्ने सहमति मात्रै नभई 'गोली हान्नु, हान्दा पनि टाउको टाउकोमै हान्नु, नभए छातीमा हान्नु, जे जसरी हुन्छ गोली लागेको मानिस मर्ने गरेर नै हान्नु' भनिएको रहेछ कि भन्ने खालको कुप्रचार लाई सदर गर्दै कोही कसैलाई भिलेन बनाउनमा नै हामी तल्लीन हुने हो ?
अनि यसो गर्दै आफू माथि जोसुकैले जुनसुकै बेला आक्रमण गरे पनि प्रहरीले गोली हान्न पाउँदैन भन्ने भाष्य निर्माण हुन दिने हो ? अनि प्रहरीको जिम्मेवार पदमा बसेको अधिकारीले आफ्ना सिपाहीले जीवन रक्षाको लागि बल प्रयोग गर्न पाउँ भनेर आदेश माग्दा, सिपाहीलाई मर्न छोड्न तयार भएर अनिर्णयको बन्दी बन्नु पर्ने हो ?
अरू सबैको बाँच्ने अधिकार छ त प्रहरीले चाहिँ मृत्यु पत्रमा नियुक्ति हुँदाकै दिन दस्तखत गर्नु पर्ने हो ? कि के हो ? अब हामीले जवाफ दिनु पर्दैन ? फेरी पनि भन्छु ती कलिला युवाहरूको मृत्यु दुखद र हृदय विदारक थियो र उनीहरू माथि जुन हिसाबले टाउको टाउकोमा, छातीमा गोली हानिएको छ त्यसले सुरक्षाकर्मीको नियत नै त नभनौँ तर उनीहरूको योग्यता, क्षमता र दक्षता माथि गम्भीर सवाल पैदा गर्छ ।
उनीहरूले बल प्रयोगको नियम र परम्परालाई पालना गरेको भए यति ठुलो हताहती हुने थिएन भन्नेमा आदेश पाउने, दिने र कार्यान्वयन गर्ने मध्य कोही कसैको विमति रहन्न तर त्यसले आफूहरू असुरक्षित भए पछि बल प्रयोगको आदेश माग्ने र आदेश मागेको विषयमा निर्णय दिने अधिकारीलाई दोषी करार गर्न सक्दैन, मिल्दैन र हुँदैन ।
यदि आक्रमणमा परेका आफ्ना सिपाहीले जीवन रक्षाको निम्ति बल प्रयोग गर्न आदेश माग्दा आदेश नदिनु चाहिँ उपयुक्त कदम हो भन्ने भाष्य निर्माण हुन दिने हो भने चाहिँ हामी थप असुरक्षित , असभ्य र अन्यायपूर्ण समय निर्माणको बाटोमा अगाडी बढ्ने छौँ ।




















