काठमाडौँ— मोरङ इटहराका सामाजिक व्यक्तित्व युवराज पौडेलले वर्तमान राजनीतिक घटनाक्रमप्रति टिप्पणी गर्दै गलत प्रस्थानविन्दुबाट सुरु गरिएको यात्रा सुखद हुन नसक्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले जटिल विषयमा सामान्य बुझाइ राख्न पनि गहिरो अध्ययन र विश्लेषण आवश्यक पर्ने उल्लेख गरेका छन्। तर पछिल्लो समय छोटो भिडियो र सामाजिक सञ्जालको प्रभावका आधारमा धारणा बनाउने प्रवृत्ति बढ्दै गएको उनको टिप्पणी छ।

पूर्वप्रधानमन्त्री र मन्त्रीहरूको गिरफ्तारीको पक्ष–विपक्षमा व्यक्त भइरहेका धारणाले नेपाली समाजको बौद्धिक अवस्थालाई चित्रित गरेको उनको भनाइ छ। उनले गिरफ्तारीको विषय सतहमा देखिएजस्तो प्रतिवेदनमा मात्र सीमित नभई गहिरा कारणहरूसँग जोडिएको हुन सक्ने संकेत गरेका छन्।

पौडेलले बालेन नेतृत्वको सरकारले सुरुदेखि नै टकरावको बाटो रोजेको आरोप लगाउँदै उक्त कदमलाई गलत प्रस्थानविन्दुको संज्ञा दिएका छन्। उनका अनुसार गिरफ्तारी सत्ता शक्तिको अनियन्त्रित प्रयोगजस्तो देखिएको छ र अभियोग प्रमाणित गर्न कानुनी प्रक्रिया जटिल हुने भएकाले तत्काल परिणाम सम्भव नदेखिने बताएका छन्।

उनले अब सरकारविरुद्ध कानुनीसँगै राजनीतिक प्रतिवाद हुने निश्चित रहेको उल्लेख गरेका छन्। कानुनी प्रतिवादले सर्वसाधारणलाई कम असर पार्ने भए पनि राजनीतिक संघर्षले द्वन्द निम्त्याउन सक्ने र त्यसले राष्ट्रलाई क्षति पुर्‍याउन सक्ने चेतावनी दिएका छन्।

‘खराव प्रस्थानविन्दुबाट यात्रा कहिल्यै सुखद बन्दैन,’ उनले भनेका छन्। यद्यपि, यस घटनाक्रमले ढिलोचाँडो नेपाली जनताको चेतनास्तर भने वृद्धि गर्नेमा आफू आशावादी रहेको उनले उल्लेख गरेका छन्।

यस्तो छ उनको धारणा :

खराव प्रस्थानविन्दुबाट यात्रा सुखद बन्दैन !
कतिपय विषयमा सामान्य जानकारी राख्न पनि गहिरो अध्यन र गहन विष्लेषण आवश्यक पर्छ । तर अचेल सरदर नेपाली १५ सेकेण्डको रिल हेरेर यस्ता विषयमा सहजै आफ्नो धारणा बनाउँछन् । आफ्नो लामो औपचारिक अध्यन र अविच्छिन्न अनुभवबाट प्राप्त ज्ञानलाई मिथ्या ठान्छन् । सामाजिक संजालमा खपत हुने स्वार्थप्रेरित प्रस्तुतिलाई नै ज्ञानकोअसली स्रोत सम्झिन्छन् ।
पूर्ववर्ती सरकारका प्रधानमन्त्री र मन्त्रीहरुको गिरफ्तारीको पक्ष-विपक्षमा प्रस्तुत धारणाहरुले मौजुदा नेपाली समाजको बौद्धिक स्तरलाई धेरै हदसम्म चित्रित गर्दछ । मुलुकमा विकसित हुँदै आएको घटना शृङ्खला हेर्दा गिरफ्तारीको अन्तर्य कार्की आयोगको प्रतिवेदनसँग मात्रै जोडिएको छैन । सतहमा प्रतिवेदन देखाइएको छ । गर्भमा भिन्न र गहिरा कारण छन् । तिनलाई बुझ्न र महसुस गर्न समय, धैर्य, अध्ययन र विश्लेषण जरुरत हुन्छ ।
बागडोर सम्हालेकै रात अनिदो बसेर बालेन सरकारले सुरु गरेको भिडन्त प्रस्थानविन्दुमै गलत छ । यो गिरफ्तारी सत्ता-शक्तिबाट उत्पन्न हुने बलको अनियन्त्रित प्रयोग हो । अभियोग सिद्ध गर्न त थुप्रै कानूनी खुड्किला पार गर्नुपर्ने हुन्छ । मौजुदा कानूनबाट यो सिधासिधी असम्भव छ ।
अब सरकार विरुद्ध कानूनी सँगसँगै राजनीतिक प्रतिवाद हुने निश्चित छ । कानूनी प्रतिवाद त सहज नै होला, यसले सर्वसाधारणलाई असर नगर्ला । तर, राजनीतिक प्रतिवादले अक्सर द्वन्द र संघर्ष निम्त्याउँछ । यसले नागरिक र राष्ट्रलाई ठूलो क्षति गर्छ । खराव प्रस्थानविन्दुबाट यात्रा कहिल्यै सुखद बन्दैन । तथापि, यो बेला एउटा कुरामा चाहिँ हामी आशावादी हुनैपर्छ- यसले ढिलोछिटो नेपाली जनताको चेत भने पक्कै उघार्छ ।


प्रतिशाेधपूर्ण गतिविधि गलत  मुख्यमन्त्री कार्की 12