काठमाडौँ — अनेरास्ववियुका पूर्व उपाध्यक्ष डा..थोमस बास्तोलाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति सहानुभूति व्यक्त गर्दै वाम आन्दोलनको वर्तमान अवस्था र भविष्यबारे १२ बुँदामार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले ओलीको राजनीतिक जीवन, नेतृत्व शैली, कमजोरी र पछिल्लो गिरफ्तारी प्रकरणबारे मिश्रित टिप्पणी गरेका छन्। उनले ओलीलाई लामो राजनीतिक संघर्ष र जेल जीवन बिताएका नेता भन्दै उनको राजनीतिक क्षमता र मनोबलको प्रशंसा गरेका छन्।
बास्तोलाका अनुसार ओली नेतृत्वमा केही महत्वपूर्ण काम भए पनि समयसँगै उनको व्यवहारमा अहंकार बढ्दै गएको र त्यसले पार्टीभित्र असन्तुष्टि सिर्जना गरेको उल्लेख गरेका छन्। फरक मत राख्नेहरूलाई कारबाही गर्ने प्रवृत्तिले एमालेको आन्तरिक लोकतन्त्र कमजोर भएको उनको टिप्पणी छ।
उनले ओलीका निर्णयहरू क्रमशः विवादास्पद बन्दै गएको र त्यसको असर सिङ्गो वाम आन्दोलनमा परेको बताएका छन्। विशेषगरी संवेदनशील घटनामा अभिव्यक्ति र आत्मालोचनाको अभावले जनविश्वास घटेको उनको भनाइ छ।
तर यस्ता कमजोरीका बाबजुद ओलीलाई हतारमा पक्राउ गर्ने सरकारी निर्णय परिपक्व नदेखिएको भन्दै उनले आपत्ति जनाएका छन्। यस्तो कदमले दीर्घकालीन रूपमा लोकतान्त्रिक अभ्यासमा नकारात्मक असर पार्न सक्ने उनको चेतावनी छ।
बास्तोलाले वर्तमान परिस्थितिमा ओलीप्रति सहानुभूति उत्पन्न भएको उल्लेख गर्दै उनको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राखी मानवीय व्यवहार गर्न सरकारलाई आग्रह गरेका छन्।
उनले एमाले कार्यकर्तालाई संयमित रहन, अराजक गतिविधिबाट टाढा रहन र कानुनी तथा राजनीतिक प्रक्रियामार्फत समाधान खोज्न सुझाव दिएका छन्।
वाम आन्दोलनको भविष्यबारे बोल्दै उनले पुनर्गठन अपरिहार्य भएको उल्लेख गरेका छन्। एमाले र माओवादी केन्द्रबीच पुनः एकता आवश्यक रहेको उनको धारणा छ। साथै, उनले पुस्तान्तरणको आवश्यकता औंल्याउँदै ७० वर्षमाथिका नेताहरूले कार्यकारी भूमिकाबाट अलग हुनुपर्ने प्रस्ताव गरेका छन्।
अन्त्यमा उनले अब केही समय राजनीतिक टिप्पणी नगरी सरकार र दलहरूको गतिविधि अवलोकन गर्ने तथा अर्थतन्त्र, साहित्य र समाजसेवाजस्ता विषयमा सक्रिय रहने बताएका छन्।
यस्तो छ उनको धारणा :
१. केपी ओली समाज परिवर्तनको लागि नै भनेर आन्दोलनमा होमिएका र १४ वर्ष जेल जीवन बिताएका पात्र हुन् । उनी तीनपटक एमालेको अध्यक्ष र चारपटक देशको प्रधानमन्त्री पनि भए । उनको राजनीतिक चातुर्यता, तीक्ष्णता र मनोबल गज्जबको छ ।
२. सरकारको नेतत्व गर्दा ओलीको पालामा देशमा केही महत्वपूर्ण कामहरू भएका थिए, जसले प्रारम्भिक चरणमा जनतामा आशा, भरोसा नयाँ सपना र ऊर्जा जगाएको थियो। उनको नेतृत्वप्रति सकारात्मक अपेक्षा थियो र धेरैले परिवर्तनको सङ्केत देखेका पनि थिए।
३. तर, समयसँगै शक्ति सुदृढ हुँदै जाँदा उनको व्यवहारमा बढ्दो दम्भ र अहङ्कार देखिन थाल्यो। पार्टीभित्र फरकधार बनाएरै उदाएका उनी आफूसँग फरक मत राख्ने सहकर्मीलाई मात्र होइन कार्यकर्तालाई समेत निस्कासन र करबाही चलाएर त्राहीमानमा राख्न थाले । पार्टीभित्र र पार्टीबाहिर उनले विश्वासको भन्दा पनि उपयोगको सम्बन्ध राखे ।विभिन्न घटनाक्रमसँगै खासगरी आफैँले अनेकौँ गाली गरेका प्रचण्डलाई वाम एकतासम्म गर्ने भनेर आफ्नोगठबन्धनमा ल्याएर प्रधानमन्त्री बनाउनु र फेरि प्रचण्ड सरकारलाई ६ महिनामै ढालेर प्रधानमन्त्री बन्नु; अनि विद्या भण्डारीको सदस्यतालाई विवादित बनाएर, विधानमा भएको ७० वर्षे र २ कार्यकालको हद समेत हटाएर तेस्रोपटक अध्यक्ष हुनुले यो कुरा सबैले बुझ्ने गरी सतहमै ल्याइदियो। यसले समाजका बुद्धिजीवी, राजनीतिक अगुवा र सचेत वर्गलाई असन्तुष्ट बनायो। अन्ततः उनको अहंकारको अन्त्य हुनुपर्छ भन्ने साझा धारणा विकसित हुँदै गयो, बढ्दै गयो, जसले घोषित वा अघोषित रूपमा विभिन्न धारका बौध्दिक, निस्वार्थ र सर्वसाधारण मानिसहरू समेत एउटै मोर्चामा उभिने स्थिति बन्यो।
४. उनको राजनीतिक यात्रा र निर्णयहरू क्रमशः गलत दिशातर्फ उन्मुख भए, जुन ऐतिहासिक, राजनीतिक र सैद्धान्तिक दृष्टिले उपयुक्त थिएनन्। उनका कदमहरू प्रगतिशीलभन्दा पछाडि फर्किएका जस्ता देखिन्थे। यसबारे निरन्तर रूपमा आलोचना हुँदै आयो । हामीले पनि बारम्बार लेखेर, बोल्दै र कडा रूपमा टिप्पणी गर्दै आएका थियौं। तर, विडम्बना के भयो भने, उनको गलत बाटो सच्याउन खोज्नेहरू पार्टीभित्र कमजोर गए, उनीहरूलाई ‘पार्टीविरोधी’ भनेर आरोप लगाइयो, र अन्ततः गलत प्रवृत्तिले नै बलियो स्थान ओगट्दै गयो।
५. यसरी गलत कदम र व्यवहार सुधार्ने प्रयास गर्नुको सट्टा ती कुराहरूको बचाउ गर्न थालिएपछि एमालेको वैचारिक, राजनीतिक आत्मा नै कमजोर हुँदै गयो। सिङ्गो पार्टीपङ्क्तिको नैतिक बल खस्कियो, नेतृत्वप्रति विश्वास घट्दै गयो। यसको असर एमालेमा मात्र सीमित रहेन, सिङ्गो वाम आन्दोलन नै गम्भीर रूपमा प्रभावित भयो र आजको अवस्थामा आइपुग्दा त्यो आन्दोलन क्षतविक्षत जस्तै देखिन्छ।
६. विशेष गरी जेनजी आन्दोलनपछि ७६ जना बालबालिकाको दुःखद हत्या जस्तो संवेदनशील घटनामा गरिएको हलुका टिप्पणी, सार्वजनिक रूपमा क्षमा माग्न नसक्नु, र त्यसपछि पनि अहंकारपूर्ण अभिव्यक्ति दिइरहनु अत्यन्त कर्णकटु र असंवेदनशील सुनिन्थ्यो । जनताले यसैलाई केन्द्रमा राखेर निर्वाचनमार्फत कडा सन्देश दिएका हुन्। तर, यति ठूलो हारपछि पनि आत्मालोचना नगर्नु, ‘हामीमा कुनै कमजोरी छैन, सच्चिनुपर्ने नै छैन ।' भन्ने अभिव्यक्ति दिने, षडयन्त्र सिध्दान्तको कुरा गर्ने र जनताको सार्वभौम निर्णय क्षमतामाथि नै प्रश्न उठाउने खालको अत्यन्तै गैरजिम्मेवार, अपत्यारिलो र अस्वीकार्य प्रवृत्ति देखियो । यसले जनमानसमा अझै नराम्रो सन्देश गएको छ ।
७. यदि उनी षडयन्त्रको शिकार भएका हुन् भने पनि त्यस्तो षडयन्त्रको पूर्वानुमान गर्न नसक्नु वा त्यसलाई समयमै बुझ्न नसक्नु नेतृत्वको कमजोरी हो। देशको प्रधानमन्त्री र पार्टीको अध्यक्षको हैसियतले उनले नैतिक जिम्मेवारी लिनु आवश्यक थियो। यस्तो अवस्थामा जनतासमक्ष विनम्रता देखाउँदै, घटनाको नैतिक जिम्मा स्वीकार गर्दै, र पार्टीको पराजयपछि अध्यक्ष पदबाट राजीनामा दिनु नै उचित राजनीतिक अभ्यास हुन्थ्यो।
८. तथापि, केपी ओलीका यी सबै राजनीतिक कमजोरी र विवादका बाबजुद सरकारले यति हतारोमा पक्राउ गर्ने निर्णय भने परिपक्व र सन्तुलित देखिँदैन। उनका अरू थुप्रै विवादित विषय छन् तर राजनीतिक नेतृत्वलाई व्यक्ति हत्यामा जेल लैजाने हो भने त राजा ज्ञानेन्द्र र प्रचण्डलाई मात्रै होइन, त्यसबेलाका गृहमन्त्री, सेनाप्रमख लगायतलाई पनि लैजानुपर्ने होला । यस्तो कदमले दीर्घकालीन रूपमा राजनीतिक संस्कार र लोकतान्त्रिक अभ्यासमा असर पार्न सक्छ, र भविष्यमा यसले एउटा महत्वपूर्ण नजीर स्थापना गर्ने सम्भावना पनि रहन्छ। केही समय सहिद परिवारलाई सान्त्वना दिने र अदालतबाट छुटकारा दिने योजना हो भने त्यो बेग्लै कुरा हो ।
९. त्यसैले, ओलीका सयौँ आलोचनाका पक्षहरू हुँदाहुँदै पनि आजको परिस्थितिमा पहिलोपटक ओलीप्रति एक प्रकारको सहानुभूति जागेको छ । एक वृद्ध (७४ वर्ष) र अस्वस्थ (दुईपटक मृगौला प्रत्यारोपण गरेको) व्यक्तिको रूपमा उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सरकारले आवश्यक उपचार, सुरक्षा र मानवीय व्यवहार सुनिश्चित गर्नुपर्ने जिम्मेवारी बहन गर्नुपर्छ।
१०. यस्तो बेला, एमालेजनले भने संयमता, आफ्नो लोकतान्त्रिक र प्रगतिशील चरित्रलाई गुमाउनु हुँदैन र कहीँकतै चुकेको भए आत्मालोचनासहित त्यस मूल्यलाई पुनर्स्थापना गर्नुपर्छ । एमालेको अध्यक्षका रूपमा रहेको हुनाले अध्यक्ष ओलीमाथि अन्यायपूर्ण व्यवहार र निर्णय नहोस् भनेर खबरदारी भने गर्नुपर्छ तर विगतमा आफूले सरकार चलाउँदा गरेका भाषण र व्यवहारहरू पनि पारदर्शी रूपमा पल्टाएर शृङ्खला मिल्ने गरी बोल्नुपर्छ, गतिविधि गर्नुपर्छ। अहिले आन्दोलनका नाममा अराजक गतिविधि गर्न खोज्दा त्यसको दूरगामी प्रभाव राम्रो हुँदैन । मूलतः अदालतप्रति भरोसा गर्दै राजनीतिक र कानूनी बाटोबाटै विषयलाई टुङ्गोमा पुर्याउन मद्दत गर्नुपर्छ।
११. अर्कोतर्फ, नेपालको वाम आन्दोलनका लागि यो एकदमै गम्भिर समय हो । चुनाबको पराजयपछि ओलीजीले नैतिकताका आधारमा तत्काल राजिनामा दिएको भए अलिकति सहज तरिकाले पुनर्गठन हुन सक्थ्यो । अब केही महिना कुर्नु उपयुक्त होला तर, एमाले वा समग्र वाम आन्दोलनको पुनर्गठन भने अपरिहार्य छ । त्यसका लागि अबको केही महिनाभित्र खासगरी स्थानीय चुनाबको ६ महिना अगाडि वामहरूबीच खासगरी नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबीच पार्टी एकता आवश्यक देखिन्छ। त्यस एकतामा ओली र प्रचण्डले नेतृत्वमा नरहने अौपचारिक घोषणा गरेर पुस्तान्तरण र हस्तान्तरणसहित हस्ताक्षर गरून् । तर, ७० वर्षमाथिकाहरू ओली र प्रचण्डसमेत सबैले पार्टीको कार्यकारी भूमिकाबाट विदा लिऊन् ।
१२. बुँदा नं. ११ मा भनिए बमोजिम गर्दा ओली प्रचण्डलाई लागेको पदलोलुपको ट्याग पनि मेटिनेछ, सबै नेता एउटा नीतिमा विदा लिने गर्दा कसैलाई अपमान पनि महसुस हुँदैन र पुनः वाम आन्दोलन नयाँ नेतृत्वले हाँक्ने परिस्थिति बन्छ । अब पार्टीको नाम वामपन्थी/समाजवादी पार्टी, वा यस्तै केही राख्ने; पार्टीको झण्डा 'पाँचकुने तारा' राख्ने र चुनाव चिन्ह 'सूर्य' राख्ने । यसो गर्दा दुवै पार्टीको अपनत्व हुन्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा फेस सेभिङ पनि हुनेछ । यसरी यो पार्टी आगामी स्थानीय चुनावसम्ममा दोस्रो र पूर्ण रूपमा सच्चिएर नैतिक बल र उत्साहसहित सक्रिय भएमा अर्को आम चुनाबमै देशको नेतृत्व गर्ने परिस्थिति पनि बन्न सक्छ। तर एक दुई एजेण्डा चाहिँ हर्क साङपाङबाट पनि सिक्दा हुन्छ । शुभकामना छ ।
र, अब यति भनेपछि सरकारका १०० बुँदा पनि पढेँ र १०० दिनको काम हेर्ने विचार छ । पार्टीहरूका १०० दिनका गतिविधिलाई पनि हेर्ने मात्र मन छ। अप्रत्यासित घटनाहरू नघटेमा थप राजनीतिक कमेण्ट गर्ने मन छैन । अर्थतन्त्र, साहित्य, विकास र समाजसेवा वा अन्य विषयवस्तुमा भने सामाजिक सञ्जालमा जोडिने नै छु ।
यहाँहरू सबैको जय होस् ।