धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावमा होमिएको छ । सोमबार धरान–१५ स्थित चुम्लुङ भवनमा उमेद्वार घोषणा तथा निर्वाचन परिचालन कमिटि र उपसमितिको नामावली सार्वजनिक गरियो ।

यही मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख पदकालागि नेकपाको तर्फबाट जिल्ला कमिटि सदस्य प्रकाश राईलाई उमेद्वार बनाउने घोषणा नेकपाले गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्मराज निरौलाले उमेद्वारको नाम घोषणा गरेका थिए ।

त्यस्तै गरी २१ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि र विभिन्न उपसमितिको नाम घोषणा गरेका थिए । नेकपाले निर्वाचन परिचालन कमिटिको संयोजकमा प्रदेश कमिटि सदस्य तथा सुनसरी सचिव रमेशकुमार बस्नेतलाई चयन गरेको छ भने सह–संयोजकमा जिल्ला सदस्यहरु मुरारी सुवेदी, अशोक राई, फोक्वाहाङ सुब्बा ‘चोत्लुङ’ र पदमप्रसाद लिम्बू रहेका छन् ।

नेकपाले चुनावमा केन्द्रीत गर्न जिल्ला सदस्य भीम राई ज्वालाको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, जिल्ला सदस्य अशोक राईको संयोजकत्वमा जनपरिचालन उपसमिति, खेम रणपहेलीको संयोजकत्वमा विद्यार्थी परिचालन उपसमिति, हरि लिम्बूको संयोजकत्वमा युवा परिचालन उपसमिति, हिमाल लिम्बूको संयोजकत्वमा खेलकुद उपसमिति, नरेश इवारमको संयोजकत्वमा सुकुम्बासी तथा भुमिहिन परिचालन उपसमिति, रवि खनालको संयोजकत्वमा उमेद्वार कार्यक्रमको सामाजिक तथा राजनीतिक उपसमिति लगायत दर्जनौ उपसमितिहरु गठन गरेको छ ।

घरदैलो अभियान सुरु
नेकपाले मंगलबारदेखि उमेद्वार सहित घरदैलो अभियान सुरु गरेेको   छ । धरानको ४ नं. वडाबाट सुरु भएको  घरदैलो अभियान मंसिर ९ गतेसम्ममा सक्ने गरि तालिका बनाएको छ । त्यस्तै मंसिर ११ गते भानुचोकमा विशाल जनसभा गरेर अभियान समापन गर्ने तालिका रहेको नेकपा धरान सदस्य राजमणी निरौलाले बताए ।

नेकपाले घरदैलो अभियान सुरु गरेसँगै घोषणा पत्र जारी गर्ने, प्रचार प्रसारलाई डिजिटलाइज्ड गर्ने, विभिन्न चोक चोकमा कोणसभा गर्ने, मतदाता शिक्षा घरघरमा सञ्चालन गर्ने, कलाकारहरुले चेतनामूलक नाटक प्रदर्शन गर्ने, घर घरमा पुगेर मतदाताहरुसँग अन्तरक्रिया गर्ने लगायतको कार्यक्रम बनाएको निर्वाचन परिचालन कमिटि संयोजक रमेश बस्नेतले बताए ।

धरानलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्रको रुपमा विकास गर्ने उमेद्वार प्रकाश राईले बताए । उनले धरानको दिगो विकासकालागि खानेपानीको योजना सम्पन्न भइ वितरण हुन थालेको र बसपार्क निर्माण, सेउती र सर्दु करिडोरको निर्माण तिब्र गतिमा गरिने बताए ।

उनले खहरे नियन्त्रण, प्रदेशले बनाउन लागेको औद्योगिक ग्राम योजना सुरु गरी रोजगारी सिर्जना, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेकाहरुलाई पूर्जा दिन यस अघि कै नेतृत्वले काम अघि बढाइसकेकोले त्यसलाई चाडो गर्ने, नगरपालिकामा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने लगायतका काम आफ्नो प्राथमिकतामा रहेको बताए ।

ww