काठमाडौं, २२ कार्तिक । नेकपाले विगतमा आफूले जितेका स्थानमा उपनिर्वाचन ‘जसरी पनि’ जित्ने रणनीति लिएको छ ।

यहीअनुसार निर्वाचन रणनीति बनाई परिचालन हुन नेकपाले पार्टी पंक्तिलाई निर्देश गरेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरी २ कात्तिकमा विशेष परिपत्र–५ पठाएका थिए ।

‘हिजो विजयी बनेका स्थानहरूमा पार्टीलाई पुनः विजयी बनाउने र नयाँ ठाउँहरूमा पनि पार्टीको जित सुनिश्चित गर्दै पार्टीप्रतिको बढ्दो जनआकर्षणलाई पुष्टि गर्ने चुनौतीपूर्ण जिम्मेवारी आएको छ’, परिपत्रमा भनिएको छ, ‘हामीले यो चुनौतीको सामना गर्नै पर्छ ।

तदनुरुप उपनिर्वाचनको तयारीमा जुट्न र समर्थक शुभेच्छुकहरूलाई समेत परिचालित गर्न सम्बन्धित पार्टी कमिटी, कार्यकर्ता, जनप्रतिनिधि र सदस्यहरूलाई निर्देशित गरिएको छ ।’

उपनिर्वाचन हुन लागेका अधिकांश रिक्त स्थानमा यसअघि नेकपाले जितेको थियो । प्रतिनिधिसभाको १, प्रदेशसभाका तीनमध्ये २, उपमहानगरपालिकाको मेयर १, गाउँपालिका अध्यक्ष तीनमध्ये १ स्थान गरी ५२ सिटमा २८ वटामा नेकपाले जितेको थियो ।

तत्कालीन एमालेले २६ र माओवादीले २ स्थानमा जितेका ठाउँमा उपनिर्वाचन हुँदैछ । गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १ सहित १४ स्थानमा विगतमा कांग्रेसले जितेको स्थानमा पनि उपनिर्वाचन हुन लागेको हो । राष्ट्रिय जनमोर्चाको १ प्रदेशसभासहित २, राजपाको १ गाउँपालिका अध्यक्षसहित ४ र समाजवादीको २ वडाध्यक्षले जितेका ठाउँमा पद रिक्त छ । स्वतन्त्रले जितेका दुई वडाध्यक्ष पद पनि रिक्त छन् ।

३९ देखि ४३ स्थानमा आफ्नो पार्टीले जित निकाल्ने दाबी नेकपा महासचिव विष्णु पौडेलले गरे । ‘पहिले जितेका सबै स्थानमा हामी सजिलै जित्छौं’, महासचिव पौडेलले भने, ‘घटीमा ३९ र बढीमा ४३ जित्ने आंकलनअनुसार परिचालनको नीति बनाएका छौं ।’

राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका र कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष पनि नेकपाले जित्ने जिकिर उनले गरे । ‘प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, उपमहानगरपालिकाको मेयर र तीनै गाउँपालिका अध्यक्षसम्म सबै स्थानमा हामी सहज जित निकाल्छौं’, उनले भने, ‘अन्य पार्टीले जित्न सक्ने सीमित स्थान भनेको वडातिर मात्र हुन्छ होला ।’

नेकपाले बागलुङ क्षेत्र नम्बर २ (ख) र बागलुङकै बढिगाड गाउँपालिका–२ को वडाध्यक्षमा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । अन्य स्थानमा जनमोर्चाले नेकपा उम्मेदवारलाई सहयोग गर्ने गरी तालमेल भएको छ ।

बागलुङको प्रदेशसभा र एउटा वडा छाडेकोमा स्थानीय नेता तथा कार्यकर्तामा असन्तुष्टि देखिएको छ । बागलुङको प्रदेशसभा सदस्यमा नेकपाका शेरमान घर्ती मगरले बागी उम्मेदवारी दिएका छन् । नेकपाका जिल्ला अध्यक्ष, जिल्ला इन्चार्ज र त्यहाँका प्रतिनिधिसभा सांसदले अध्यक्ष दाहाललाई भेटी जनमोर्चाका उम्मेदवारलाई नछाड्न लबिङ गरेका थिए ।

बागी उम्मेदवारीका विषयमा अध्ययन गरेर उम्मेदवारी फिर्तासम्ममा मिलाइने महासचिव पौडेलले बताए। ‘बागी उम्मेदवार परेको रहेछ भने पनि असन्तुष्टि अध्ययन गरेर उम्मेदवारी फिर्ताको समयसम्ममा हामी सबै मिलाउँछौं’, उनले भने ।

कास्कीमा गत निर्वाचनमै फराकिलो अन्तरले जित निकालेकाले यसपटक सहज रहेको, प्रदेशसभातर्फको दाङ र भक्तपुरमा पनि जित्नेमा नेकपा विश्वस्त देखिएको छ । अन्नपूर्ण पोष्टबाट