काठमाडौं—प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा समस्याबारे दिएको विवादित अभिव्यक्तिको विरोध गर्दै नेकपा माओवादीले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई 'राष्ट्रघाती' को संज्ञा दिँदै माओवादीका नेता तथा कार्यकर्ताहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उनीहरूले सुस्ताका देशभक्त नेपालीहरूलाई राज्यले सम्मान दिनुपर्ने र सीमाको रक्षाका लागि सरकार गम्भीर हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरूले 'सीमा अतिक्रमण बन्द गर', 'सुस्तामा भारतीय हस्तक्षेपको प्रतिरोध गरौं', र 'भौगोलिक अखण्डताको रक्षा गरौं' लगायतका नारा लेखिएका प्लेकार्डहरू समेत प्रदर्शन गरेका थिए।




















