बागलुङ, २४ कात्तिक । बागलुङ क्षेत्र नं.२ प्रदेश (ख) मा बागी उम्मेद्वारी दिएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेरमान घर्ती अन्ततः गठबन्धनलाई सघाउन तयार भएका छन् ।

स्वतन्त्र उम्मेद्वारका रुपमा मनोनयन दर्ता गरेका उनी पार्टीसँगको पहलपछि निर्वाचनको गठबन्धन दल राष्ट्रिय जनमोर्चालाई सघाउन तयार बनेका हुन् ।

उम्मेद्वारी फिर्ताका लागि निर्वाचन आयोगले तोकेको समयमा नपुगेका कारण उम्मेद्वारी फिर्ता नभए पनि पार्टीसँगको औपचारिक छलफलपछि उनी आफू रहँदै आएको पार्टीले आधिकारिक उम्मेद्वारलाई सघाउन तयार भएको नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिएका छन् ।

घर्तीले राजमोका उम्मेद्वार खिमविक्रम शाहीलाई सघाउने सहमति भइसकेको र त्यसको जानकारी दिनका लागि केहीबेरमै पत्रकार सम्मेलन गरिने उनले बताए । कानूनी रुपमा उम्मेद्वारी फिर्ता नभए पनि सहमति गरेर गठबन्धनका शाहीलाई नै सघाउन घर्ती तयार भएको अध्यक्ष सापकोटाले बताएका छन् ।

‘ढिला आएका कारण उम्मेदवार फिर्ता भएन’, अध्यक्ष सापकोटाले भने, ‘उहाँ वाम गठबन्धनको आधिकारिक उम्मेद्वारलाई सघाउन तयार हुनुहुन्छ, केहीबेरमै योबारे जानकारी गराउँछौं ।’

नेकपाले बाग्लुङ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) राजमोलाई छाड्ने गरी सहमति गरेको थियो । पार्टी निर्णयविरुद्ध घतीले बिहीबार प्रदेससभा सदस्यका लागि मनोनयन दर्ता गरेका थिए । पार्टी निर्णय विपरीत मनोनयन दर्ता गरेपछि फिर्ता लिन नेकपाले दबाब दिएको थियो ।

आइतबार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले घर्तीसँग सहमतिको पहल गरी आफ्नै हेलिकप्टरमा राखेर सदरमुकाम ल्याएका थिए ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय आज दिउँसो १ बजेसम्मका लागि तोकेको थियो । उनीहरु आयोगले तोकेको समयभन्दा २० मिनेट ढिला गरी आएपछि कानूनी रुपमा उम्मेद्वारी फिर्ता गराउन नेकपा असफल भएको थियो ।

त्यसपछि उम्मेद्वार घर्तीसहित नेकपाका जिल्लाका जिम्मेवार नेताहरुबीच भएको छलफलपछि घर्ती शाहीलाई सघाउने निर्णयमा पुगेका हुन् । उनलाई उम्मेद्वारी फिर्ता लिने समयक कुनै समूहले अपहरण गरेको बागलुङ नेकपाले आरोप लगाएको छ ।