पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग गर्नेलाई ‘आवारा’ र ‘किर्ना’को संज्ञा दिएका एमाले अध्यक्ष केपी ओलीले नेतृत्व हस्तान्तरणको विकल्पमा नजाने स्पष्ट गरेपछि संस्थापन इतर पक्षले ‘पार्टी पुनर्निर्माण महाभियान’ अघि बढाउने तयारी थालेको छ । एमालेको संस्थापन इतर पक्षले सातै प्रदेशमा पार्टी पुनर्निर्माण महाभियान सञ्चालन गर्ने गरी चरणबद्ध आन्तरिक छलफल अघि बढाएको हो ।
पार्टी पुनर्गठनको मुद्दालाई ओझेलमा पार्दै केन्द्रीय कमिटीको बहुमतबाट आफूअनुकूल निर्णय गराउने अध्यक्ष ओलीको रणनीतिलाई ‘काउन्टर’ गर्न इतर पक्षले यस्तो तयारी गरेको हो । तर, ओलीले राजीनामा दिई केन्द्रीय कमिटी विघटन गर्नुपर्ने माग कार्यदल र सचिवालय बैठकमा उठ्न सक्ने देखिएपछि त्यसलाई छल्ने रणनीति लिएका छन् ।
उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेलसहित पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट समूहबाट केन्द्रीय कमिटी र पदाधिकारीमा प्रतिनिधित्व गर्ने नेताहरूको समर्थन जुटाउँदै अभियान अघि बढाउनेबारे छलफल भइरहेको छ ।
मंगलबार पाण्डेसहित नेताहरू गोकुल बाँस्कोटा, आनन्दप्रसाद पोखरेल, कृष्णप्रसाद दाहाल, बैजनाथ चौधरी, पुरुषोत्तम पौडेल, माधव अर्याल, सोम मिश्र, अरविन्द सिंह, उषाकिरण तिमिल्सिना, नवराज सिलवालसहितले छलफल गरेका थिए । केही दिनदेखि उनीहरू औपचारिक–अनौपचारिक छलफलमा छन् ।
सचिवालयमा कार्यदलको प्रस्तावमा छलफल हुँदा ओली भारी अल्पमतमा पर्ने र त्यसको प्रभाव केन्द्रीय कमिटीमा परेर प्रतिकूल निर्णय हुने भयले ओलीले सिधै केन्द्रीय कमिटी डाक्न खोजिरहेको बुझाइमा इतर पक्षका नेता छन् । त्यसैले पनि सकभर कार्यदल र सचिवालय हुँदै केन्द्रीय कमिटीमै पुनर्गठन प्रतिवेदनबारे छलफल गराउने, नभए भदौ तेस्रो साताबाट बागमतीबाट छलफल चलाउने इतर पक्षको तयारी छ ।
संस्थागत छलफल नहुँदै पार्टीको विधि र विधानबाहिर गएर सामाजिक सञ्जालमा लेख्ने, बाहिर–बाहिर बैठक राख्नेहरूले अनुशासनहीन काम गरेको भन्दै ओलीले केही दिनयता उनीहरूमाथि कारबाही हुन सक्ने चेतावनी दिँदै आएका छन् । तर, यही वेला एघारौँ महाधिवेशनमा सहभागी प्रतिनिधिकेन्द्रित भेला बोलाएर अध्यक्ष ओलीबाहेकका नेताहरूको उपस्थितिमा नीति, विचार, सिद्धान्त, नेतृत्व र कार्यशैलीसहित समग्र पार्टी पुनर्गठनका विषयमा छलफल चलाउने इतर पक्षले योजना बनाएका छन् ।
महाभियानको प्रारम्भिक चरणमा प्रदेशस्तरीय छलफल र भेला आयोजना गर्ने विषयमा इतर पक्षका नेताहरूले केन्द्रित भएर आन्तरिक छलफल गरिरहेका छन् । बागमतीमा महाभियान भेला संयोजन गर्ने जिम्मेवारी नेताहरू आनन्दप्रसाद पोखरेल, सोम मिश्र र कृष्णप्रसाद दाहालले लिएका छन् । गण्डकीमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र सचिव खगराज अधिकारीले मिलेर महाधिवेशन प्रतिनिधि भेला आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, अरू प्रदेशमा पनि योजना बनाएरै भेला गर्ने इतर पक्षको तयारी छ ।
पूर्वकेन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकाका पूर्वमेयर सोम मिश्रले बागमती प्रदेशबाट भेला सुरु गर्ने गरी प्रारम्भिक तहमा अनौपचारिक छलफल चलेको बताए । त्यसपछि अरू प्रदेशहरूमा पनि क्रमशः भेलाहरू आयोजना हुन सक्ने उनले बताए ।
‘एमालेको पुनर्जागरण मात्र होइन, पुनर्जन्म नै दिनुपर्ने आवश्यकता छ । त्यसैले एमाले पुननिर्माण महाभियान सुरु गर्ने गरी छलफल अगाडि बढाइएको छ,’ मिश्रले भने, ‘भेलामा गत महाधिवेशनका प्रतिनिधिहरू, प्रदेशका अगुवा नेता–कार्यकर्ता तथा अध्यक्षबाहेकका सिनियर नेताहरूलाई राखेर छलफल चलाउने तयारी गरिँदै छ ।’
पार्टीमा पुनर्गठन माग गर्ने कतिपय नेता–कार्यकर्तालाई लक्षित गर्दै उनले आवारा र पटक–पटक अवसर लिएर संकटका वेला पार्टी समाप्त पार्न लागेका किर्नाको संज्ञा दिइसकेका छन् । अर्कोतर्फ नेतृत्वको राजीनामासहित केन्द्रीय कमिटी विघटनबाट हुनुपर्ने इतर पक्षको मागप्रति आक्रोशित ओलीले कार्यदल र सचिवालयको बैठक छल्ने नीति लिएका छन् । चार दिनअघि गुन्डु पुगेका महासचिव शंकर पोखरेललाई ओलीले सिधै केन्द्रीय कमिटी बोलाइने बताएका छन् ।
जवाफमा पोखरेलले जेठ दोस्रो साता बसेको केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार पुनर्गठन कार्यदलले पारित गरेको प्रतिवेदन सचिवालयमा छलफल नगरी केन्द्रीय कमिटीमा लगिए मान्य नहुने चेतावनी दिएका छन् । ओली र पोखरेलबिच पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नै लिएर टकराव बढेपछि इतर पक्ष संस्थागत प्रक्रिया छलिए महाधिवेशनका बहुमत प्रतिनिधिको हस्ताक्षर गराउने विकल्पतिर जाने निष्कर्षतिर पुगेको छ ।
यसअघि गजेन्द्र थपलिया, रमेश पौडेल, नविना लामालगायतको सक्रियतामा करिब ६ सयआसपास महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरिएको थियो । एघारौँ महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी थिए । विशेष महाधिवेशनका लागि बहुमत पुर्याउन एक हजार १३२ जना प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्छ ।
उता, अध्यक्ष ओली भने पुनर्गठन कार्यदलले जस्तो प्रतिवेदन दिए पनि केन्द्रीय कमिटीमा त्यसलाई सुविधाजनक रूपमा संशोधन गर्ने हैसियतमा रहेको विश्वासमा छ । एघारौँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीमा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईसहित १२ जना केन्द्रीय सदस्य मात्र अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका थिए ।
अहिले पुनर्गठनसम्बन्धी मुद्दामा १९ सदस्यीय सचिवालयमा भने ओली अल्पमतमा छन् । ओलीलाई हटाउन नहुने पक्षमा उनीसहित उपाध्यक्ष रामबहादुर थापा, उपमहासचिव लेखराज भट्ट, सचिवहरू भानुभक्त ढकाल, महेश बस्नेत र शेरधन राई मात्र खुलेका छन् ।
तर, ओलीलाई हटाएर पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्त, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई र रघुवीर महासेठ, सचिवहरू छविलाल विश्वकर्मा, यामलाल कँडेल, डा. राजन भट्टराई र हिक्मत कार्कीसहित ११ जना स्पष्ट रूपमा खुलिसकेका छन् ।
पछिल्ला दिनमा सचिव खगराज अधिकारी पनि बहुमत लाइनमै खुल्दै गएको नेताहरूको दाबी छ । तर, सचिव पद्मा अर्याल भने दुवै पक्षतिर स्पष्ट रूपमा खुलेकी छैनन् । अधिकारीले उपाध्यक्ष गुरुङसँग मिलेर गण्डकी प्रदेशमा पार्टी पुननिर्माण महाभियानकै पक्षमा भेला आयोजना गर्ने प्रतिबद्धतासमेत जनाइसकेको इतर पक्षका नेताहरूले दाबी गरेका छन् ।
गण्डकी प्रदेशमा पार्टी पुनर्गठनका लागि भएको छलफलमा विचार, संगठन, कार्यशैली, संख्या र जिम्मेवारीलगायत समग्र पक्षमै पुनर्गठन गर्नुपर्ने सुझाव बहुसंख्यकबाट आएको प्रदेश इन्चार्ज अधिकारीले बताए । ‘सुझाव मिश्रित नै छ, तर धेरैले विचार, संगठन, कार्यशैली, संख्या र जिम्मेवारीमा पुनर्गठन गरेर जान सुझाव दिएका छन्,’ अधिकारीले भने ।
उनले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनबारे आफूलाई जानकारी नभएको बताए । कार्यदलको बैठक नबस्नुको जिम्मेवारी अध्यक्षले नभई संयोजकले लिनुपर्ने उनको भनाइ छ । ‘बैठकको तयारी पुगेपछि बस्ला । तर, अहिलेसम्म किन डाकिएन, त्यसको जिम्मेवारी कार्यदलका संयोजकले लिनुपर्छ । त्यसपछि अध्यक्षसँगको कुरा अध्यक्षसँगै गरौँला,’ उनले भने ।
महाभियानको तयारीसम्बन्धी छलफलमा सक्रिय पूर्वकेन्द्रीय सदस्य माधव अर्यालले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन जस्ताको तस्तै संस्थागत विधि र प्रक्रियाअनुसार छलफलमा लैजानुपर्ने मागसहित अभियान सञ्चालनको तयारी भइरहेको बताए ।
‘पार्टी कसैको निजी कम्पनी होइन, कार्यकर्ताको अहोरात्रको खटाइ र जनताको अपार मायाले बनेको हो,’ उनले भने, ‘त्यसैले देशभरका कार्यकर्ताले दिएका सुझाव पार्टीले सार्वजनिक गर्नुपर्छ । ती सुझाव ग्रहण गरेर त्यसअनुसार पार्टीलाई अगाडि बढाउनुपर्छ । अभियानमार्फत दबाब सिर्जना गर्ने कि भनेर छलफल गरिरहेका छौँ ।’
-लोकपाटी




















