काठमाडौं — सांसद श्रीराम न्यौपानेले त्रिशूली थ्री ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी दिएका छन्।
भोटेकोशी बाढीपछि सुरुङभित्र फसेकाको खोज तथा उद्धार कार्य जारी रहेको अवस्थामा नेपाली सेनाले सुरुङभित्रबाट मानिसको आवाज आएको जानकारी दिएको उनले बताएका हुन्।
सांसद न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरेर उद्धार अभियानलाई तीव्र बनाइरहेको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु सकुशल उद्धारको आशा जगाउने संकेत भएको उनले उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले हिजोसम्म इन्जिनियरको भूमिकामा घटनास्थलमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न रहेको र अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुर पुगेर त्यसपछि सडकमार्गबाट काठमाडौं फर्कने तयारीमा रहेको बताएका छन्।
उनले उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइने आशा व्यक्त गरेका छन्।


