विराटचोक — आप्रवासी महिला कामदार समूह (आमकास नेपाल) मोरङको सातौँ वार्षिक साधारणसभा  आइतबार सम्पन्न भएको छ। साधारणसभाबाट उमादेवी सेढाईं पुनः अध्यक्षमा निर्वाचित हुँदै संस्थाको नेतृत्वलाई निरन्तरता दिएकी छन्।

सुन्दरहरैँचा नगरपालिका–८ स्थित सलकपुरको शिक्षा निकेतन माध्यमिक विद्यालयको माथिल्लो भवनमा सम्पन्न साधारणसभाले नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो।

निर्वाचनबाट यसअघि रहेका पदाधिकारी तथा सदस्यहरूलाई यथावत् राख्दै रिक्त रहेका तीन सदस्य पदमा बेलकुमारी घिमिरे, सुनिता घिमिरे र मन्दिरा प्रसाईं निर्वाचित भएका छन्। नयाँ सदस्य चयनसँगै संस्थाको कार्यसमितिले पूर्णता पाएको आयोजकले जनाएको छ।

May be an image of one or more peopleकार्यक्रममा प्रमुख अतिथिका रूपमा सुन्दरहरैँचा–८ की वडा सदस्य कुमादेवी लुइँटेल सहभागी थिइन्। यस्तै, सुन्दरहरैँचा–९ की वडा सदस्य शारदा गदाइली, वडा नं. १० की वडा सदस्य गंगामाया विक (दिपा)  तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

साधारणसभामा संस्थाले विगत एक वर्षमा सञ्चालन गरेका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना प्रस्तुत गरेको थियो। महिला अधिकार, बालबालिकाको संरक्षण तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा संस्थाको भूमिका थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूबीच छलफल भएको थियो।

पुनः अध्यक्षमा निर्वाचित भएपछि उमादेवी सेढाईंले सदस्यहरूले आफूप्रति गरेको विश्वासका लागि आभार व्यक्त गर्दै आगामी कार्यकालमा संस्थालाई अझ व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन्। उनले सदस्यहरूको सहभागिता बढाउँदै सामाजिक क्षेत्रमा आमकास नेपालको योगदानलाई थप विस्तार गर्ने बताइन्।

nepalpurba.com (5) 1