काठमाडौं—राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ परेपछि यस विषयलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ। यसैबीच, अभिनेत्री मनीषा कोइरालाले पनि दाहाल पक्राउसम्बन्धी समाचार सेयर गर्दै ‘ह्वाट्स गोइङ अन ?’ (What’s going on?) भन्दै चासो व्यक्त गरेकी छन्।
कोइरालाले सामाजिक सञ्जालमा दाहाल पक्राउसँग सम्बन्धित समाचारका लिंकहरू सेयर गर्दै संक्षिप्त प्रश्न राखेकी हुन्। उनले पक्राउको पक्ष वा विपक्षमा स्पष्ट टिप्पणी नगरे पनि उनको यो अभिव्यक्तिले घटनाप्रति गहिरो चासो देखाएको संकेत गर्छ। उनको पोस्टमा प्रयोगकर्ताहरूले विचारको स्वतन्त्रता र कानुनी अनुसन्धानको प्रक्रियालाई लिएर मिश्रित प्रतिक्रिया दिइरहेका छन्।
राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष दाहाललाई आइतबार बिहान मोरङको बेलबारी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि नेपाल प्रहरीको साइबर ब्युरोको आग्रहमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।
दाहालविरुद्ध मोरङमा कुनै उजुरी नरहेको र थप अनुसन्धानका लागि उनलाई काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ। यद्यपि, उनलाई कुन विशिष्ट अभिव्यक्ति वा कसुरका आधारमा पक्राउ गरिएको हो भन्ने विस्तृत विवरण प्रहरीले अझै खुलाएको छैन।
उता, दाहालका सहकर्मीहरूले भने राजनीतिक विचार व्यक्त गरेको तथा शासन व्यवस्थामाथि प्रश्न उठाएका कारण राज्यले धरपकड गरेको दाबी गरेका छन्।


