झापा— झापाको बिर्तामोड नगरपालिका–२ बेलडाँगी डाँडागाउँ टोल विकास संस्थामा बसोबास गर्दै आएका ६२ वर्षीय मोहन मुर्मुको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार मुर्मुको घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको हो। उनी खोलामा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा मृतकको मुचुल्का उठाउने कार्य भइरहेको बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेलले जानकारी दिए।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मेची लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

खोलानालामा विद्युतीय करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा यसअघि पनि दुर्घटना हुने गरेका छन्।