काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले काठमाडौं उपत्यकामा पुराना तथा थोत्रा सवारीसाधनबाट निस्कने कालो धुवाँले वायु प्रदूषण बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले आकाशमा बादल देखिए पनि सडकमा सवारीसाधनको कालो धुवाँका कारण नागरिक निसास्सिनुपर्ने अवस्था रहेको बताइन्।

उनले तीन महिनाअघि कालो धुवाँ फाल्ने सवारीसाधनलाई गरिने जरिवाना बढाउन पूर्वाधार विकास मन्त्रालयमा कुरा राखेको र मन्त्रीले ५ सय रुपैयाँको जरिवाना बढाएर ५० हजार रुपैयाँ पुर्‍याउने भने पनि कार्यान्वयन नभएको दाबी गरिन्।

तामाङले भनिन्, ‘हामीलाई देश हाँक्ने चालक चाहिँ नयाँ नेता र मन्त्री, तर गाडी चल्ने इन्जिन चाहिँ उही थोत्रा र १०० वर्ष पुराना भएपछि जनताले कसरी स्वच्छ हावामा सास फेर्छ?’

उनले पुराना तथा प्रदूषण फैलाउने सवारीसाधनको प्रभावकारी नियमन र स्वच्छ हावा पाउने नागरिकको अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।