म्याग्दी— बीस वर्षअघि तीन दिनकी सुत्केरी हुँदा श्रीमान् बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका–४, छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवनमा फेरि अर्को बज्रपात परेको छ।
नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमायाका २३ वर्षीय छोरा भुपेन्द्र रेग्मी भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएपछि उनी छोराको खोजी र आफ्नै उपचारको दोहोरो पीडामा परेकी छन्।
रसुवामा निर्माणाधीन एक जलविद्युत् आयोजनामा कार्यरत भुपेन्द्रले भदौ ९ गते साँझ आमालाई फोन गरेका थिए। ‘असोजमा उपचारका लागि काठमाडौँ लैजाने, दसैँअघि बिहे गर्ने र पोखरा गएर बस्ने योजना सुनाएका थिए,’ नरमायाले भनिन्, ‘१० गतेदेखि छोरासँग सम्पर्क विच्छेद भएको छ।’ अहिले पनि नयाँ नम्बरबाट फोन आउँदा कतै छोराकै हो कि भन्ने आश उनमा पलाउँछ।
छोराको खोजीका लागि स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनी, आयोजना र सरकारी निकायसँग गुहार मागेकी नरमायालाई काठमाडौँबाट घर फर्कने आँट आएको छैन। ‘छोराको अवस्था टुङ्गो नलागी कसरी घर फर्किनु?’, नरमायाले भावुक हुँदै भनिन्, ‘तीन दिनकी सुत्केरी हुँदा श्रीमान् बेपत्ता हुनुभयो। अहिले भोटेकोशीको बाढीले मेरो एकमात्र भरोसा पनि खोस्यो, जीवनमा झनै पीडा थपिदियो।’
खेतीकिसानी गरेर जीवन निर्वाह गर्दै आएकी नरमायाका श्रीमान् नन्दबहादुर रेग्मी बेपत्ता भएको २० वर्ष पुगिसकेको छ। नन्दबहादुर दरवाङस्थित एक किराना पसलमा बजार प्रतिनिधिका रूपमा काम गर्थे। उनी बेपत्ता हुँदा छोरी जम्मा तीन दिनकी थिइन्। लामो समयसम्म कुनै पत्तो नलागेपछि आफन्त र गाउँलेहरूको सल्लाहमा नन्दबहादुरको धार्मिक विधिअनुसार काजकिरिया गरिसकिएको छ।
आर्थिक अभावका कारण अदालतबाट श्रीमान्को न्यायिक मृत्यु प्रमाणित गराउन नसकेको नरमायाले बताइन्। नन्दबहादुरको नागरिकता नबनेको र उनीहरूबीच कानुनी रूपमा विवाह दर्तासमेत नभएकाले कानुनी प्रक्रिया पूरा गर्न नसक्दा नरमाया राज्यबाट पाउने एकल महिला सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित छिन्।
कक्षा ८ सम्म मात्र पढेका भुपेन्द्रले ज्याला मजदुरी गरेर बहिनीलाई कक्षा १० सम्म पढाएका थिए। गत जेठमा आमाको नाकमा समस्या देखिएपछि भुपेन्द्रले दुई महिना गण्डकी अस्पतालमा राखेर उपचार गराएका थिए। त्यसपछि आमालाई घर फर्काएर उनी खर्च जुटाउन मजदुरीका लागि रसुवा पुगेका थिए।
नरमायाको नाकको समस्या अझै ठ्याक्कै पहिचान हुन सकेको छैन। उनले मासिक २१ हजार रुपैयाँ बराबरको औषधि सेवन गर्नुपर्छ। उनलाई थप उपचारका लागि असोजमा काठमाडौँ लैजाने भुपेन्द्रको तयारी थियो।
स्थानीय ओखरबोट माध्यमिक विद्यालयका शिक्षक नवीन पुनका अनुसार नरमायाको जीवनमा एकपछि अर्को बज्रपात आइपरेको छ। ‘चिकित्सकले ब्रेन ट्युमरको आशङ्का गरी थप उपचारका लागि काठमाडौँ वा भारत जान सल्लाह दिएपछि पैसा जुटाउन रसुवा पुगेका भुपेन्द्रलाई बाढीले बेपत्ता बनायो,’ उनले भने, ‘अहिले नरमायासामु बेपत्ता छोरा खोज्ने मात्र नभई आफ्नो उपचार कसरी गर्ने भन्ने गम्भीर सङ्कट खडा भएको छ।’
बागलुङमा विवाह भएकी नरमायाकी छोरीको बच्चा सानो भएकाले दाजुको खोजी र उपचार खर्च जुटाउन भौँतारिएकी आमालाई साथ दिन सकेकी छैनन्।
यसैबीच, शिक्षक पुनको अगुवाइमा नरमायाको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरु गरिएको छ। ‘एक हप्ताको अवधिमा सामाजिक सञ्जालमार्फत गरिएको अपिलबाट नरमायाको खातामा करिब दुई लाख ५० हजार रुपैयाँ जम्मा भइसकेको छ। प्रतिबद्धता जनाएका सबैले रकम पठाएमा करिब आठ लाख रुपैयाँ जुट्ने अनुमान छ,’ पुनले भने, ‘रोगको पहिचान र उपचार त सुरु गर्न सकिन्थ्यो, तर अस्पतालमा कुरुवा बसिदिने परिवारका सदस्य र आफन्तसमेत नहुँदा थप समस्या भएको छ।’ रासस


