काठमाडौं— नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले भदौ २३ र २४ गते सर्वोच्च अदालतमा भएको आगजनीबारे प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको निर्देशनमा अदालतका फाइल जलाइएको आरोप लगाएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रेष्ठले सर्वोच्च अदालतका कुन फाइल कुन कोठामा छन् भन्ने जानकारीसहित निर्देशन दिएर आगजनी गरिएको दाबी गरिन्। उनले केही फाइल पटक–पटक किन जलिरहेका छन् भन्ने विषयमा तत्काल संसदीय छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग गरिन्।
श्रेष्ठले न्यायपालिकामाथि सरकारको ध्यान केन्द्रित भएको भन्दै प्रश्नसमेत उठाइन्। उनले भनिन्, ‘स्वतन्त्र न्यायालयमाथि सरकारको गिद्धे नजर किन लाग्दैछ सभामुख महोदय? अहिले सरकारको टार्गेट अदालत किन परिरहेको छ?’
श्रेष्ठको आरोपप्रति रास्वपा सांसद लालविक्रम थापाले नियमापत्ति जनाए। उनले रवि लामिछानेलाई जोडेर अफवाह फैलाउने काम भएको भन्दै श्रेष्ठको उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे।
संसद्मा श्रेष्ठले लगाएको आरोपको समर्थनमा तत्काल कुनै स्वतन्त्र प्रमाण प्रस्तुत भएको उल्लेख छैन। रास्वपा सांसदले पनि उक्त आरोप अस्वीकार गर्दै अभिलेखबाट हटाउन माग गरेका छन्।


