काठमाडौं — ग्यास आपूर्ति सहज बनाउन नसकेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दुवाडी लाई जिम्मेवारीबाट हटाएका छन्।
यसअघि भदौ २५ गते तत्कालीन उद्योगमन्त्री गौरीकुमारी यादव ले राजीनामा दिएकी थिइन्। मन्त्री परिवर्तन भएको एक सातामै सचिव दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार नवबढुवा सचिव रुद्रसिंह तामाङ लाई उद्योग मन्त्रालयको नयाँ सचिवको जिम्मेवारी दिइएको छ।
दुवाडी उद्योग मन्त्रालयमा रहँदा बजारमा एलपी ग्यासको आपूर्ति लामो समयदेखि असहज बनेको थियो। यही विषयमा संसद र सार्वजनिक रूपमा मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्वमाथि प्रश्न उठेको थियो।
नयाँ उद्योगमन्त्री दीपककुमार साह ले भने भारतसँग समन्वय गरेर केही दिनका लागि दैनिक ग्यास बुलेटको संख्या १०० बाट १६० पुर्याइएको बताएका छन्। उनका अनुसार दसैं, तिहार र छठसम्म ग्यास, चिनी लगायत अत्यावश्यक वस्तुको अभाव हुन नदिने तयारी भइरहेको छ।


