काठमाडौं — प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा विश्वव्यापी आपूर्ति प्रणालीको असमानतामाथि प्रश्न उठाएका छन्।

महासभालाई सम्बोधन गर्दै शाहले विश्वले हतियार र गोलाबारुद छोटो समयमै संसारको जुनसुकै ठाउँमा पुर्‍याउने व्यवस्था बनाएको भए पनि नेपालका किसानले आवश्यक समयमा मल र इन्धनसमेत नपाउने अवस्था रहेको बताए।

उनले युद्धका लागि प्रभावकारी रसद प्रणाली विकास भए पनि खाद्यान्न, मल र किसानका आधारभूत आवश्यकताका लागि त्यस्तै विश्वव्यापी व्यवस्था निर्माण हुन नसकेको उल्लेख गरे।

प्रधानमन्त्री शाहले यो विषयलाई जलवायु न्याय र विश्वव्यापी आर्थिक असमानतासँग जोड्दै नेपालजस्ता विकासशील मुलुकहरूले आफूले सिर्जना नगरेका सङ्कटको भारसमेत बोक्नुपरेको बताए। साथै, विश्व समुदायलाई विकासशील देशका आवश्यकता र आपूर्ति प्रणालीलाई न्यायपूर्ण बनाउन आग्रह गरे।