झापा — झापाको मेचीनगर नगरपालिका–१० धुलाबारी माइती भएकी हेमा मण्डलको हत्या गरेको अभियोगमा उनका पति विप्लव कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।

भारतको नक्सलबाडीमा पतिसँगै डेरा गरी बस्दै आएकी हेमाको शव केही दिनअघि कोठाभित्रै सडेको अवस्थामा फेला परेको थियो। हेमाको मृत्यु स्वाभाविक नभई हत्या भएको भन्दै माइती पक्षले भारतीय प्रहरीसमक्ष जाहेरी दिएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा भारतीय प्रहरीले विप्लवलाई नियन्त्रणमा लिई शनिबार सिलिगुडी अदालतमा उपस्थित गराएको छ।

माइती पक्षका अनुसार करिब दुई वर्षअघि कामका सिलसिलामा धुलाबारी आएका बखत विप्लव र हेमाबीच चिनजान भएको थियो। त्यसपछि उनले हेमालाई प्रलोभनमा पारेर भारत लगेका थिए।

केही समयअघि विप्लव 'काम विशेषले बाहिर जान्छु' भन्दै एक हप्ताका लागि निस्किएका थिए। सोही अवधिमा योजनाबद्ध रूपमा हेमाको हत्या गरिएको हुनसक्ने माइती पक्षको आशंका छ।

घटनाबारे भारतीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।