काठमाडौँ — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको स्पष्ट पारेको छ।

कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार राणाको जीवनमाथि गम्भीर सुरक्षा चुनौती देखिएको सूचना प्राप्त भएपछि शनिबार राति उनलाई सुरक्षाका निम्ति टेकुस्थित कार्यालयमा ल्याइएको हो। राणा हाल पनि प्रहरीकै सुरक्षा घेरामा रहेका छन्।

"हामीलाई राति नै उहाँको जीवनमाथि गम्भीर खतरा रहेको सूचना आएपछि सुरक्षाका लागि साथमा लिएर आएका हौँ," एसएसपी खड्काले भने।

सुरक्षा अवस्थाको विश्लेषण र सुनिश्चिततापछि उनलाई घर पठाउने वा अन्य सुरक्षित स्थानमा राख्नेबारे निर्णय लिइने प्रहरीले जनाएको छ। हालसम्म उनीविरुद्ध कुनै पनि पक्राउ प्रक्रिया अघि नबढाइएको कार्यालयले प्रस्ट पारेको छ।

शनिबार राति राणालाई प्रहरीले पक्राउ गरेको चर्चा सामाजिक सञ्जालमा फैलिएको थियो। तर प्रहरीले भने उनलाई पक्राउ पुर्जीका आधारमा नभई सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै संरक्षणका लागि मात्र नियन्त्रण/निगरानीमा लिइएको दाबी गरेको छ।