धरान — प्रतिनिधिसभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले दायर गरेको अंश मुद्दामा सुनसरी जिल्ला अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ।

दिलमायाले २०७३ असोज ६ गते दायर गरेको मुद्दामा न्यायाधीश मणिराम न्यौपानेको इजलासले २०७६ असार १२ गते फैसला गरेको हो। फैसलामा हर्क साम्पाङका दाजुभाइ तथा आमासहितको सगोल सम्पत्तिमा पाँच अंशियार कायम गरी एक अंश दिलमाया राईलाई छुट्याउनुपर्ने ठहर गरिएको छ।

अदालतले सगोल सम्पत्तिलाई पाँच भाग लगाएर हर्क साम्पाङको भागमा पर्ने एक हिस्सालाई हर्क साम्पाङ, उनकी पत्नी दिलमाया र छोरी एलिसाबीच तीन भाग लगाउनुपर्ने र त्यसबाट दिलमायालाई एक भाग अंश दिनुपर्ने फैसला गरेको छ।

फैसलाअनुसार हर्कराज राई, उनका दाजुहरू आशयकुमार राई र एकराज राई, आमा जसमाया राई तथा मूल पुरुषतर्फकी जेठी पत्नी धनकुमारी राई गरी पाँच अंशियार कायम गरिएको छ।

दिलमायाले अदालतमा दायर गरेको फिरादपत्रमा वैवाहिक जीवन सुरु भएदेखि नै पति हर्कराजसँग झैँझगडा तथा कुटपिट हुने गरेको दाबी गरेकी थिइन्। उनले हर्कराजले अन्य महिलासँग सम्बन्ध राखेको आरोपसमेत लगाएकी थिइन्।

फिरादमा पटक–पटक प्रहरीमा उजुरी गरे पनि छोरीको भविष्यलाई हेरेर पति–पत्नी मिलेर बसेको उल्लेख छ। विदेशबाट फर्किएपछि पनि हर्कराजले त्यस्तो सम्बन्ध कायम राखेको र आफूलाई कुटपिट गरी घरबाट निकाला गरेको उनको दाबी थियो।

दिलमायाले हर्क साम्पाङसँग २०५४ पुस ८ गते प्रेम विवाह भएको र उनीहरूबाट छोरी एलिसा राई रहेको बताएकी थिइन्। आफूहरूबीच कानुनबमोजिम अंशबन्डा नभएको र अंशबन्डा गर्नुपर्ने सम्पत्ति विपक्षीहरूको नाममा रहेको भन्दै उनले अदालतमा अंश माग गरेकी थिइन्।

उनले विपक्षीहरूको सम्पूर्ण सम्पत्तिलाई चार भाग लगाई पतिले पाउने एक भागबाट आफू, पति हर्कराज र छोरी एलिसाबीच पुनः तीन भाग लगाएर त्यसको एक भाग आफूले पाउनुपर्ने माग गरेकी थिइन्।

अदालतले भने फैसलामा सगोल सम्पत्तिका पाँच अंशियार कायम गर्दै हर्क साम्पाङको भागमा पर्ने सम्पत्तिबाट समेत दिलमायालाई कानुनबमोजिम अंश दिनुपर्ने ठहर गरेको हो।