विराटनगर— विराटनगरमा तास खेलिरहेको अवस्थामा पक्राउ परेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।
मोरङ प्रहरीले सोमबार राति विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा कोइरालासहित ८ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको थियो।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ७ः३० बजे हिरासतमा अचेत अवस्थामा भेटिएका कोइरालालाई तत्काल कोशी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान करिब ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कोइरालाको यसअघि टाउकाको शल्यक्रिया भएको पाइएको छ। उनको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन।
यसै क्रममा प्रहरीबाट भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया दुई तला माथिबाट हामफाल्दा घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिएको छ र श्री अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट ताससहित ४८ हजार ३ सय ९५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


