काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनयुद्धकालमा १२ हजार जनता राज्यले मारेको बताएका छन् । द्वन्द्वकालमा १७ हजार मध्ये पाँच हजारको मात्र जिम्मा आफूले लिने भनाइ उनले राखे ।

माघी महोत्सवको अवसरमा बुधबार टुँडिखेलमा आयोजित कार्यक्रममा उनले सो भनाइ राखेका हुन् । ’मलाई ताकेर साथीहरुले धेरै कुरा राख्नु भएको छ । ती सबै कुराको जवाफ दिन सक्दिन । म तथ्यांक मात्र सच्याउन चाहन्छु । मैले १७ हजार मान्छे मारेर आएको तथ्यांक भन्‍ने गरिन्छ ।  यो सत्य होइन’ – प्रचण्डले भने – ‘हिजोका सामन्ती राज्यले १२ हजारलाई मारेकाे हाे ।’  

जनयुद्धकालमा मारिएका सबैको जिम्मेवारी आफ्नो काँधमा राख्नु न्यायोचित नहुने उनले बताए । तर आफूले युद्धको जिम्मा भने लिने उनले बताए । यस्तै टीकापुर हत्याकाण्डमा संलग्‍न रहेको अभियोगमा जेलमा रहेका रेशम चौधरीलाई आफूले प्रधानमन्त्री हुँदा भेटेको पनि उनले बताए । उनले रेशम भारतमा हुँदा पनि प्रधानमन्त्रीकै हैसियतले भेट्न गएको बताए ।

आफ्नै पहलमा रेशमको सपथ भएको दावी पनि प्रचण्डले गरे । उनले जनयुद्धकालमा संलग्‍न भएका थारु मात्रै जेलमा नभइ बाहुन र क्षेत्री पनि जेलमा रहेको बताए । ‘टीकापुर घटनामा जेल परेका केही छुटिसकेका छन्। रेशमलागाय छुट्न बाँकी छ’ – उनले भने । केही समयमा उनलाई पनि छुटाउने प्रचण्डले बताए ।

सनराइज खवरबाट