काठमाडौं । पहिलो पटक चुनाव लडेर ठूलो पार्टी बनेपछि आफू नेतृत्वको तत्कालीन माओवादीमा उन्माद चढेको पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

नेकपाका अध्यक्ष दाहालले पार्टीको बाग्मती प्रादेशिक भेलामा सो कुरा बताएका हुन् । उनले भने– ‘पहिलो संविधान सभा चुनावमा आधा आधा गरेर चुनाव लडौं भनेर मैले माधवजी (तत्कालीन एमाले अध्यक्ष)लाई प्रस्ताव राखें ।

उहाँहरुलाई माओवादीको दुईचार सिट मात्र आउँछ भन्ने भ्रम थियो ।’ तर, चुनावमा ठूलो पार्टी बनेपछि माओवादीमा उन्माद चढेको बताउँदै उनले भने– ‘हामीलाई राष्ट्रपति पनि आफैं लिनुपर्छ, प्रधान सेनापति पनि आफैं लिनुपर्छ भन्ने उन्माद भयो ।’ उनले कम्युनिष्ट आन्दोलनमा तत्कालीन माले, एमाले र माओवादी सबैको योगदान भएको र उनीहरुले गरेको सशस्त्र संघर्षले नै आजको अवस्था आएको बताए ।

उनले बामदेव गौतमको पनि चर्चा गरे तर अहिलेको विवादको प्रसंगमा होइन । बामदेव गृहमन्त्री भएको बेला जनयुद्ध सिध्याउन दमनकारी कानुन बनाउन खोजेको प्रचण्डले बताए । पार्टी भनेको जमेको पोखरी होइन, गड्गडाएर अगाडि बढ्छ । उनले भने– ‘तपाईंहरुलाई अब पार्टी के हुन्छ भन्ने परेको छ अहिले केही हुँदैन ।

हामीले संघर्ष गरेर ल्याएको यो पार्टीलाई विघटन र विभाजन हुन दिँदैनौं ।’ ‘तपाईंहरु आत्तिनुभएको होला, मिडियामा आएको कुराले निरास नहुनुहोला, यो पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई सफल हुन दिँदैनौं’– अध्यक्ष प्रचण्डले भने । सनराइज खवरबाट