काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको छ । प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो पटक मृगौला प्रत्यरोपण गरिएको थियाे । अस्पतालले बिहीबार अपराह्न पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीको प्रत्यरोपित मृगौलाले काम गर्न थालिसकेको बतायाे ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको र प्रत्यरोपित मृगौलाले पनि सामान्य रुपमा काम गर्न थालेको अस्पतालका कार्यकारी निर्देशन प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिए । उनले भने– ‘बिहीबारबाट तरल तथा नरम आहार दिन थालिसकिएको छ ।’ओलीका सबै भाइटल र ल्याब सूचकहरु पनि सामान्य अवस्थामा रहेको खड्गाले जानकारी दिए ।
यस्तै प्रधानमन्त्री ओलीलाई मृगौला दिएकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि स्थिर रहेको डा. खड्गाले बताए । उनले भने– ‘उहाँलाई पनि आजबाट तरल र नरम आहार दिन सुरु गरिसकिएको छ ।’प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भारत, पाकिस्तान, जापान लगायत देशका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको जानकारी दिए ।
थापाले नेपालका लागि चिनियाँ, जापानी र पाकिस्तानी राजदूतहरुले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको समेत बताए । जापान र पाकिस्तानका राजदूतले अस्पतालमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेको बताउँदै उनले भने– ‘चिनियाँ राजदूतले टेलिफोन मार्फत स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।’प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा पहिलो पटक मृगौला प्रत्यरोपण गरिएको थियो । सनराइज खबरबाट


