काठमाडौँ,२३ चैत
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताउनु भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एनएमबी ग्रुप र नेपाल भारत मानव विकास मैत्री संघको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) बुझ्दै मन्त्री ढकालले यस्ता सहयोगले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च हुने बताउनुभयो ।
उहाँले सरकारले पनि चिकित्स र स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि भत्ता, बीमा र सुरक्षाको प्रबन्ध मिलाएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘कोरोनाको लडाइँमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्कर्मी र चिकित्सकको मनोबल बढाउन यस्ता सहयोगी मन र सामग्रीले बल पुर्याउँछ । सरकारले पनि मनोबल बढाउनका लागि विभिन्न काम गरेको छ।’
उहाँले सरकारले एम्बुलेन्स चलाउनेदेखि उपचार कक्षामा रहेर काम गर्ने स्वास्थ्यकर्मीसम्मको मनोबल बढाउन बीमा र भत्ताको व्यवस्था बताउँदै सुरक्षाको पनि उचित प्रबन्ध गरिएको जानकारी दिनुभयो ।
मन्त्री ढकालले स्वाथ्यकर्मी र चिकित्सकलाइ स्वास्थ्य सामग्री अभाव हुनै नदिने प्रतिबद्धता दोहोर्याउनु भयो ।उहाँले लामो समयदेखि सत्तामा विभिन्न दल हुँदा पनि नभएको काम आफूले विषम परिस्थितिकै बीचमा पनि गरेको बताउनुभयो ।
मन्त्री ढकालले दीर्घकालीन रूपमा काम गर्न मिल्ने गरी प्रयोगशालाहरूको स्थापना गरिएको र सच्चालनमा ल्याइएको बताउनुभो । उहाँले भन्नुभयो ‘यति लामो समयसम्म सत्ताको नेतृत्वमा विभिन्न दल भए पनि यो विषम परिस्थितिमा केन्द्रीय प्रयोगशालको सेवा सातै प्रदेशमा लैजाने काम व्यवहारमै गरेका छौँ ।
’
मन्त्री ढकालले स्वास्थ्यका केही सामाग्री उपलब्ध भए पनि अझै पूर्ण रूपमा सामाग्री संकलन गरेर सम्बन्धित ठाउँमा पुर्याउने काम भैरहेको उल्लेख गर्नुभयो । उहाँले कोरोनाको विरूद्ध सरकारले उच्च सतर्कता र सावधानीका साथ काम गर्दा अहिलेको परिस्थितिमा आइपुगेको बताउँदै यो समय सबैले मिलेर हातेमालो गर्नुपर्ने बताउनुभयो ।
मन्त्री ढकालले रोगबाट जोगिन सकियो र नेपाली जनतालाइ पनि बचाउन सकियो भने बाँकी कुरा पछि गर्न सकिने भन्दै अहिले हिलो छ्याप्ने काम बन्द गर्न अनुरोध गर्नुभयो ।
एनएमबी ग्रुपले चीनबाट ल्याएको सात सय थान पिपिइ हस्तान्तरण गरेको छ भने नेपाल भारत मैत्री विकास संघले नेपालमै उत्पादन गरेको तीन सय थान पिपिइ हस्तान्तरण गरेको छ । संकटको समयमा सरकारलाइ सहयोग गर्नु निजी क्षेत्रको पनि कर्तव्य रहेको भन्दै दुबै संस्थाका प्रतिनिधिले थप सहयोगहरू उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पिपिइ हस्तान्तरण कार्यक्रममा शहरी विकास राज्यममन्त्री रामवीर मानन्धर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, एनएमबी ग्रुपका तर्फबाट एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र मैत्री संघका तर्फबाट अध्यक्ष सूर्य भुसाल लगायत उपस्थित रहनु भएको थियो ।


